‘अभिमन्यु’को रहस्यमय संसारमा पैसाको खेल – शीर्ष गीत सार्वजनिक



काठमाडौं – नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को शीर्षक गीत (टाइटल ट्र्याक) सार्वजनिक भएको छ। यो गीतले चलचित्रको मूल कथावस्तुलाई थप स्पष्ट पारेको छ।

र्‍यापर भियोमाको शब्द, सङ्गीत र स्वर रहेको यस गीतले पैसाले मानव जीवनमा ल्याउने जटिलता र त्यसका कारण उत्पन्न हुने सम्बन्धहरूको यथार्थ चित्रण गरेको छ। गीतमा पैसाको लोभले मानिसको सक्कली चरित्र कसरी उदाङ्गो हुन्छ र मायाजस्ता संवेदनशील कुराहरू पनि कसरी पैसासँग साटिन्छन् भन्ने कुरालाई उजागर गरिएको छ।

यस र्‍यापले जीवनको रहस्यमय पाटोलाई निकै मार्मिक ढङ्गले प्रस्तुत गरेको छ। षड्यन्त्रको जालोमा फसेको जीवन, एक अर्कालाई पछि पार्ने होडबाजी र त्यसबाट सिर्जित तनावले मानिसको जिन्दगी कसरी धरापमा पर्छ भन्ने कथालाई गीतले सशक्त रूपमा उठाएको छ। यो गीत चलचित्रको मुख्य कथावस्तुसँग पूर्ण रूपमा मेल खान्छ, जहाँ एक पात्र पैसाको प्रलोभनमा चक्रव्यूह मा फस्छ र त्यसबाट उम्किन निरन्तर सङ्घर्ष गर्छ।

सार्वजनिक गरिएको भिडियोमा र्‍यापर भियोमा स्वयं फिचर्ड छन्। भिडियोमा चलचित्रका केही महत्त्वपूर्ण दृश्यहरू पनि समावेश छन्, जसले पैसाको पछि लाग्ने पात्रले भोग्ने समस्या र पीडालाई थप प्रस्ट पारेको छ।

चलचित्र ‘अभिमन्यु’ आगामी भदौ २७ गते (सेप्टेम्बर १३) मा नेपालभर प्रदर्शन हुँदैछ भने यसको हिन्दी संस्करण असोज ६ गते (सेप्टेम्बर २२) मा विश्वव्यापी रूपमा रिलिज गरिनेछ।

सुशान्त गौतमको निर्देशनमा बनेको यस चलचित्रको कथा मुकेश खनालले लेखेका हुन्। यसमा कामेश्वर चौरासिया, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौलालगायतका कलाकारको अभिनय रहेको छ। सेभेन सिज सिनेमा को ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता छन् भने विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता हुन्।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu