
काठमाडौं – अभिनेता केदार घिमिरेको प्रमुख भूमिका रहेको चलचित्र ‘माग्ने राजा’ले बक्स अफिसमा गजबको प्रदर्शन गरिरहेको छ। ‘माग्ने बुढा’को नामले लोकप्रिय घिमिरेको यो पहिलो सोलो लिड भूमिका भएकाले फिल्मलाई उनको लोकप्रियताको परीक्षणको रूपमा हेरिएको थियो। व्यापारिक आँकडाले केदार घिमिरे पास भएको प्रस्ट पार्छ।
केदारले अभिनय गरेका चलचित्रहरू अरूको सहारामा हिट भएको आरोप लाग्ने गर्थ्यो। केदारको सो आरोपको खण्डन गर्न पनि एक चलचित्रमा एक्लै चलेर देखाउनु पर्ने थियो, जुन ‘माग्ने राजा’ हो।
सामीप्यराज तिमल्सेनाको लेखन तथा ऋषि लामिछानेको निर्देशनमा बनेको यो चलचित्रले रिलिजको १२ औँ दिनसम्म कुल ४ करोड ९ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ। विशेष गरी तीज र त्यसपछिको पहिलो सप्ताहन्तमा चलचित्रले उत्कृष्ट व्यापार गरेको थियो।
मुनाल घिमिरेले निर्माण गरेको यस चलचित्रमा केदारले धनी बन्ने सपना बोकेको एक पात्रको भूमिका निभाएका छन्। ‘माग्ने राजा’ को सफलताले केदार घिमिरेको स्टारडमलाई थप उचाइमा पुर्याएको छ। केदार अभिनीत दुई चलचित्रहरू ‘माइतीघर’ र ‘जेरी अन टप’ क्रमशः दसैँ र तिहारमा रिलिज हुँदैछन्।






