
काठमाडौं – निर्देशक सुरेन्द्र पौडेलको आगामी चलचित्र ‘वरिष्ठ बलराम’ को फस्ट लुक पोस्टर र टिजर सार्वजनिक गरिएको छ। निर्माण पक्षले एकैसाथ दुई फरक पोस्टर र एउटा टिजर सार्वजनिक गरेको हो। दुवै पोस्टरमा मुख्य कलाकार दयाहाङ राई र विजय बराल प्रमुख रूपमा देखिएका छन्।
पहिलो पोस्टरमा दयाहाङ राई रातो सुटमा क्रुद्ध मुद्रामा देखिएका छन् भने विजय बराल निराश भावमा छन्। दुवैको हाउभाउले उनीहरूबीचको सम्बन्धमा कुनै तनाव वा टकराब रहेको सङ्केत गर्छ। दोस्रो पोस्टरमा भने दयाहाङ र विजयसहित समृद्धि अर्याल, माओत्से गुरुङ, भोलाराज सापकोटा, पशुपति राई र प्रदीप कुमार चौधरी पनि समाविष्ट छन्।
पोस्टरले कथावस्तुबारे कौतुहलता सिर्जना गरे पनि टिजरले भने कथाको केही अंश उजागर गरेको छ। टिजरमा दयाहाङ राई र विजय बरालबीचको नोकझोक देखिन्छ।
‘वरिष्ठ बलराम’ कात्तिक ६ गते, भाइटिकाको अवसर पारेर प्रदर्शन हुनेछ। चलचित्रमा दयाहाङ राई र विजय बरालसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी लगायतका कलाकारहरूको अभिनय रहेको छ।
यो चलचित्र निर्देशक पौडेलको चौथो निर्देशन हो। यसअघि उनले ‘आभास’, ‘क्रृ’ र ‘बाबरी’ जस्ता सफल चलचित्रहरू निर्देशन गरिसकेका छन्।
वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा निर्माण भएको यस चलचित्रका निर्माताहरूमा आशिष एच तामाङ र श्रीराज कार्की रहेका छन् भने कार्यकारी निर्मातामा प्रदीप जी. धामी र पुष्कर बि घिमिरे छन्।
चितवनका विभिन्न स्थानमा छायाङ्कन गरिएको यो सामाजिक कथावस्तुमा आधारित चलचित्रको छायाङ्कन मानकृष्ण महर्जनले गरेका छन्। चलचित्रमा प्रशान्त सिवाकोटी र विशेष पाण्डेयको सङ्गीत, सम्राट शाक्यको एक्सन र प्रदीप लामाको नृत्य निर्देशन रहेको छ।
यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछन्।
टिजर:






