
काठमाडौं – शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘रिमै’ को भव्य प्रिमियर शो बुधवार न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा सम्पन्न भएको छ। प्रिमियरमा सिनेमाकर्मी, सञ्चारकर्मी र विभिन्न क्षेत्रका सेलिब्रेटीहरुको बाक्लो उपस्थिति थियो।
प्रिमियर शो सुरु हुनुअघि गुरुङ समुदायको परम्परागत सोरठी नाच प्रस्तुत गरिएको थियो। चलचित्रका मुख्य कलाकार दयाहाङ राई र रिश्मा गुरुङ गुरुङ समुदायको पहिरनमा सजिएर आएका थिए। प्रिमियरमा निर्देशक ज्ञानेन्द्र देउजा, दीपक आचार्य (काकु), अनिल योञ्जन, विल्सन विक्रम राई र रोहित रुम्बा लगायतका चर्चित व्यक्तित्वहरू उपस्थित थिए।
हेरिसकेपछि उपस्थित सबैले ‘रिमै’ को प्रशंसा गरे। विल्सन विक्रम राईले फिल्मलाई ‘मन छुने’ भन्दै अहिलेसम्म गुरुङ समुदायमाथि बनेका चलचित्रमध्ये ‘रिमै’ उत्कृष्ट रहेको बताए। यस्तै, अभिनेता तथा निर्देशक माओत्से गुरुङले पनि ‘रिमै’ उत्कृष्ट बनेको प्रतिक्रिया दिँदै निर्देशक खिलबहादुर गुरुङले गुरुङ समुदायको कथामा एउटा उत्कृष्ट चलचित्र बनाएकोमा धन्यवाद दिए।
८ वर्षपछि चलचित्रमा फर्केकी अभिनेत्री रिश्मा गुरुङ ‘रिमै’ लाई लिएर निकै उत्साहित थिइन्। अमेरिकाको एक सहरमा बस्दै आएकी उनले प्रिमियरमा चलचित्र हेर्दा आफूले नेपालको वातावरण र समुदायको सम्झना मेटाएको बताइन्। “म लामो समयदेखि अमेरिकामा बस्दै आएकी छु, जहाँ नेपाली समुदायको बसोबास कम छ। त्यहाँ बस्दा म नेपालका कुरा धेरै मिस गर्थेँ। आज ‘रिमै’ हेर्दा ती सबै कुरा बिर्सेर नयाँ अनुभव बटुलेँ,” उनले भनिन्। रिश्माले काजी र मैयाको जोडी लामो समयपछि पर्दामा फर्केकाले दर्शकले मन पराउने विश्वास व्यक्त गरिन्।
चलचित्रका निर्देशक खिलबहादुर गुरुङले ‘रिमै’ निर्माणमा ३ वर्षको निरन्तर मेहनत र इमानदारीताका साथ काम गरेको बताए। प्रिमियरमा मिलेको सकारात्मक प्रतिक्रियाले फिल्मको व्यवसायमा थप सहयोग पुग्नेमा उनी आशावादी देखिए।
गोरखा सिरानचोक एन्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुति तथा रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा बनेको यो चलचित्रमा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुष्कर गुरुङ, वीरमाया गुरुङ, बिरबल घले, डिवी गुरुङ, टेक गुरुङ, असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतका कलाकारको अभिनय रहेको छ। कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको यस चलचित्रलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन्। बिरबल घले कार्यकारी निर्माता रहेको चलचित्रमा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माता छन्।
खिल बहादुर गुरुङको निर्देशनमा बनेको यो चलचित्रमा दीपक शर्मा र थानेश्वर गौतमको सङ्गीत, किरण चाम्लिङ राईको मुख्य सहायक निर्देशन, विष्णु मैनालीको प्रोडक्सन व्यवस्थापन र मित्र डी गुरुङको सम्पादन रहेको छ।






