निर्देशक कृषा चौलागाईँको जन्मदिनमा ‘पारस’को घोषणा



काठमाडौं – निर्देशक कृषा चौलागाईँले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ चलचित्र ‘पारस’ को घोषणा गरेकी छिन्। ‘पीताम्बर’ पछि ‘जहाजैमा’ निर्देशन गर्ने घोषणा गरेकी चौलागाईँले बुधवार यो नयाँ चलचित्रको घोषणा गरेपछि ‘जहाजैमा’ तत्काल नबन्ने प्रस्ट भएको छ।

केपी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको कथा र निर्देशन दुवै कृषा चौलागाईँले गर्नेछिन्। उनका भाइ विशाल चौलागाईँको लगानी रहने यो चलचित्रलाई सचिन लदियाले लेखेका हुन्। निर्माण पक्षका अनुसार, यसको छायाङ्कन आगामी फागुन महिनाबाट सुरु हुनेछ। यसअघि ‘ऐँचो पैँचो’ र ‘पिताम्बर’ मा पनि सहकार्य गरिसकेका पुरुषोत्तम प्रधानले यस चलचित्रको छायाङ्कनको जिम्मेवारी सम्हाल्नेछन्, जुन उनीहरूको तेस्रो सहकार्य हो।

काठमाडौंमा आयोजित घोषणा समारोहमा निर्देशक चौलागाईँले ‘पारस’ एक्सन र लभ स्टोरीको संयोजन हुने जानकारी दिइन्। उनले भनिन्, “पहिलो पटक नेपालमा आएर सचिन लदियाले लेखन कार्य सुरु गर्नुभएको छ। अहिले यति नै जानकारी दिन मिल्छ, बाँकी कुरा पछि थाहा हुनेछ।” उनले फिल्मका कलाकार र अन्य प्राविधिक टोलीबारे बिस्तारै जानकारी दिने पनि बताइन्।

सोही अवसरमा निर्माता विशाल चौलागाईँले आफ्नो दिदीको जन्मदिनमा यो चलचित्र निर्माणको योजना बनाएको बताए। उनले ‘पीताम्बर’मा भएका गल्तीहरूलाई ‘पारस’मा सुधार्ने प्रतिबद्धता पनि व्यक्त गरे।

घोषणा कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीले सफलताको कामना गरे।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu