‘रिमै’ आजदेखि देशभर प्रदर्शनमा



काठमाडौं – नेपाली चलचित्र ‘रिमै’ आजदेखि नेपालभरका हलहरूमा प्रदर्शनमा आएको छ। खिलबहादुर गुरुङको निर्देशनमा बनेको यस चलचित्रले गुरुङ समुदायको कथा र संस्कृति प्रस्तुत गर्ने प्रयास गरेको छ।

यसअघि बुधवार काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा गरिएको भव्य प्रिमियर शोमा चलचित्रकर्मी, सञ्चारकर्मी र विभिन्न क्षेत्रका व्यक्तित्वहरूले फिल्मको प्रशंसा गरेका थिए। प्रिमियरमा उपस्थितहरूले ‘रिमै’ लाई गुरुङ समुदायमाथि बनेका चलचित्रमध्ये उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए।

चलचित्रमा दयाहाङ राई र ८ वर्षपछि पर्दामा फर्किएकी रिश्मा गुरुङको मुख्य भूमिका रहेको छ। उनीहरूको जोडीलाई दर्शकले विशेष रुचाउने अपेक्षा गरिएको छ। यसमा अर्पण थापा, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुष्कर गुरुङलगायत कलाकारको पनि अभिनय रहेको छ।

गोरखा सिरानचोक एन्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुति तथा रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा बनेको चलचित्रमा कवि तथा निर्देशक उपेन्द्र सुब्बाले लेखेको पटकथा, शैलेन्द्र ध्वज कार्कीको छायाङ्कन, मित्र डी गुरुङको सम्पादन र दीपक शर्मा तथा थानेश्वर गौतमको सङ्गीत रहेको छ।

निर्देशक खिलबहादुर गुरुङले ‘रिमै’ निर्माणमा करिब ३ वर्षको मेहनत र समुदायप्रतिको इमानदारी समर्पण रहेको बताउँदै, प्रिमियरमा प्राप्त सकारात्मक प्रतिक्रियाले फिल्मले देशभर दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu