बङ्गलादेशी चलचित्र ‘नो दोराई’ नेपालमा रिलिज हुने 



काठमाडौं – बङ्गलादेशमा अत्यधिक सफल भएको चलचित्र ‘नो दोराई’ अब नेपाली दर्शकमाझ पनि पुग्ने भएको छ। एप्पल इन्टरटेनमेन्टले एक प्रेस विज्ञप्ति जारी गर्दै यो चलचित्र भदौ २७ गतेदेखि नेपालभर प्रदर्शन हुने जानकारी दिएको छ।

‘नो दोराई’, जसको शाब्दिक अर्थ ‘नडराएको’ हुन्छ, प्रसिद्ध निर्देशक तानीम रहमान अंशुले निर्देशन गरेका हुन्। सन् २०१९ मा बङ्गलादेशको राष्ट्रिय चलचित्र पुरस्कारमा ६ विधामा सम्मानित यो चलचित्र कोक्स बजारकी एक युवती आयशाको वास्तविक जीवनमा आधारित छ। सर्फिङप्रतिको उनको गहिरो लगाव र स्थापित सामाजिक मान्यताहरूलाई चुनौती दिने उनको साहसिक यात्रालाई यस चलचित्रले मार्मिक ढङ्गले प्रस्तुत गरेको छ। यो चलचित्रले महिला सशक्तीकरण, लगनशीलता र आत्मबलको कथालाई समुन्द्रसँगको गहिरो भावनात्मक सम्बन्धमा आधारित भई चित्रण गर्छ।

चलचित्रको मुख्य आकर्षण यसको साहसी कथा वाचन, मनमोहक दृश्य र बङ्गलादेशी सर्फिङ संस्कृतिको अनौठो प्रस्तुति हो। एप्पल इन्टरटेनमेन्टले ‘नो दोराई’को विश्वव्यापी विषयवस्तु नेपाली दर्शकमाझ पनि उत्तिकै लोकप्रिय हुने अपेक्षा राखेको छ। कम्पनीका अनुसार, साहस, समानता र व्यक्तिगत विजयका कथा मन पराउने दर्शकका लागि यो चलचित्र विशेष रुचिकर हुनेछ।

बङ्गाली र चिटगाउँनिया भाषामा बनेको यो चलचित्र अङ्ग्रेजी सबटाइटलसहित प्रदर्शन हुनेछ। यसको नेपाल प्रिमियर आगामी मङ्गलवार आयोजना गरिएको छ, जसमा परराष्ट्र मन्त्री, बङ्गलादेशी राजदूत, सञ्चार तथा सूचना प्रविधि मन्त्री लगायतका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहनेछ।

यो चलचित्रको प्रदर्शन दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) अन्तर्गत नेपालको एप्पल इन्टरटेनमेन्ट र बङ्गलादेशको स्टार सिनेप्लेक्सबीचको द्विपक्षीय सहमतिमा आधारित छ। यसअघि, स्टार सिनेप्लेक्सले एप्पल इन्टरटेनमेन्टले निर्माण गरेको चलचित्र ‘केटी हराएको सूचना: मिसिङ’लाई बङ्गलादेशमा प्रदर्शन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu