जापानी चलचित्रबाट क्युएफएक्सको अनौठो ‘ट्रायल,’ ‘अभिमन्यु’का निर्माताले दिए धन्यवाद



काठमाडौं – नेपालभर भदौ २७ गते नेपाली चलचित्र ‘अभिमन्यु’ र जापानी एनिमे ‘डेमन स्लेयर: किमेत्सु नो याइबा द मूभी: इन्फिनिटी क्यासल’ एकसाथ रिलिज हुँदै छन्। तर, रिलिजअघि नै विवाद सुरु भएको छ।

जापानी चलचित्र ‘डेमन स्लेयर’ को टिकट अग्रिम बिक्रीका लागि देशभरका हलहरूले शो सार्वजनिक गरिसकेका छन्। नेपालको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले पनि यसको शो खोल्ने बित्तिकै धेरै टिकट बिकेको छ।

यसको ठिक विपरीत, नेपाली चलचित्र ‘अभिमन्यु’ को शो क्युएफएक्सले अहिलेसम्म सार्वजनिक गरेको छैन। यो कुराले चलचित्रका निर्माता विनोद पौडेल असन्तुष्ट छन्। 

पौडेलले आफ्ना वितरक अशोक शर्मामार्फत क्युएफएक्ससँग शो सार्वजनिक नगर्नुको कारण सोधे। त्यसपछि उनलाई अचम्मको जवाफ दिइएको दाबी उनले गरेका छन्।

उनका अनुसार, क्युएफएक्सले जापानी फिल्मलाई ‘ट्रायल’ का रूपमा चलाएको रहेछ। यसको उद्देश्य, भविष्यमा नेपाली फिल्मलाई पनि अग्रिम बुकिङ खुलाउँदा कस्तो हुन्छ भन्ने अभ्यास गर्नु रहेको थियो।

यसअघि ‘पूर्णबहादुरको सारङ्गी’ जस्तो सर्व कालिन सफल चलचित्र निर्माण गरिसकेका पौडेलले व्यङ्ग्यात्मक शैलीमा भने, “नेपाली फिल्मको उत्थानका लागि जापानी फिल्मलाई ट्रायल गरिएको रहेछ।” उनले ठुलोपर्दा डटकमसँग कुरा गर्दै अनुकरणीय काम गरेको भन्दै क्युएफएक्सलाई धन्यवाद पनि दिए। क्युएफएक्स बाहेकका अन्य हलहरूले भने ‘अभिमन्यु’ को शो खोलिसकेका छन्।

क्युएफएक्सले नेपाली चलचित्रलाई बेवास्ता गरेर विदेशी फिल्मलाई प्राथमिकता दिएको भन्दै सामाजिक सञ्जालमा समेत यस विषयमा चर्को बहस भइरहेको छ। यो घटनाले नेपाली चलचित्र उद्योग र मल्टिप्लेक्सबीचको सम्बन्धलाई फेरि एक पटक चर्चामा ल्याएको छ।

‘अभिमन्यु’ लाई काठमाडौं उपत्यकामा डिसिएन र उपत्यका बाहिर कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछन्। 

निर्माता पौडेल उनै हुन्, जसले ‘पूर्णबहादुरको सारङ्गी’ रिलिजको समयमा हिसाब किताब चित्त नबुझेको भन्दै केही हलहरूबाट चलचित्र निकाल्ने बताएका थिए। त्यो विवाद देशभरका हलहरूको छाता सङ्गठन नेपाल चलचित्र सङ्घ सम्म पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu