
काठमाडौं – वर्षकै दोस्रो हिट चलचित्र बनेको ‘मोहर’ ले दर्शकहरूलाई नयाँ योजना ल्याएको छ। घरेलु बक्स अफिसमा ५ करोडभन्दा बढीको व्यापार गरिसकेको यो चलचित्र हेर्ने दर्शकले ‘सुनको मोहर’ जित्ने सुवर्ण अवसर पाउने निर्माताले बताएका छन्।
यो आकर्षक योजनामा सहभागी हुन दर्शकले देशका चार वटा हलमा गएर सो चलचित्र हेर्नुपर्नेछ। चितवनको म्याङ्गो जन ज्योति सिनेमा, काठमाडौंका सामाखुसीको क्यूएफएक्स स्क्वायर मल, कीर्तिपुरको कीर्तिपुर सिनेप्लेक्स र न्यूरोडको रञ्जना सिनेप्लेक्समा चलचित्र हेर दर्शकहरूले आफ्नो टिकटको पछाडि नाम र मोबाइल नम्बर लेखेर हलमा राखिएको ड्रप बक्समा खसाल्नुपर्नेछ।
कुल ९ जना भाग्यशाली दर्शकले यो पुरस्कार जित्नेछन्। त्यसमध्ये, म्याङ्गो सिनेमाबाट ३ जना, क्यूएफएक्स र कीर्तिपुर सिनेप्लेक्सबाट २-२ जना, र रञ्जना सिनेप्लेक्सबाट २ जना विजेता चुनिनेछन्।
भदौ २३ गतेदेखि असोज ११ गतेसम्म चलचित्र हेर्ने दर्शकहरू यो योजनामा सहभागी हुन सक्नेछन्। यति मात्र होइन, भदौ २३ गतेभन्दा अगाडि हेरेका दर्शकहरूले पनि आफ्नो टिकट सुरक्षित राखेको भए यो उपहार योजनामा सहभागी हुन पाउने फिल्म निर्माण पक्षले जनाएको छ। विजेताहरूलाई फिल्मको ५१ औँ दिनको विशेष कार्यक्रममा पुरस्कार हस्तान्तरण गरिनेछ।
ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको र चुम्बन जङ्ग शाहीले निर्माण गरेको यो चलचित्रमा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जङ्ग शाही, मिथिला शर्मा, लक्ष्मी गिरी, रवीन्द्र झा, र सारा शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ।






