
काठमाडौं – अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै नेपालमा भएको ऐतिहासिक राजनीतिक परिवर्तनप्रति आफ्नो खुसी व्यक्त गरेका छन्। हालै नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीको नियुक्ति भएपछि उनले यसलाई ‘इतिहास रचियो’ भन्दै प्रशंसा गरेका छन्।
अनमोलले आफ्नो पोस्टमा लेखेका छन्, “इतिहास रचियो! नेपालले पहिलो महिला प्रधानमन्त्री पाएको छ। यो जित हाम्रो पुस्ताको साहसले सम्भव भएको हो। यस्तो साहसी र युगान्तकारी परिवर्तनको साक्षी बन्न पाएकोमा साँच्चिकै गर्व लागेको छ।” उनले यस परिवर्तनलाई विशेष गरी जेन–जी (युवा पुस्ता) को आन्दोलनको परिणामका रूपमा उल्लेख गरेका छन्।
उनी थप्छन्, “युवाको सही हस्तक्षेपले जतिसुकै जरा गाडेको भए पनि खराब व्यवस्था जरैदेखि उखेलेर फ्याँक्न सक्छ।” यद्यपि, उनले यसका लागि ठुलो मूल्य चुकाउनुपरेको भन्दै आन्दोलनका क्रममा ज्यान गुमाएका सबैलाई श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले लेखेका छन्, “हामीले यसका लागि चुकाउनु परेको मूल्यलाई कहिल्यै बिर्सनु हुँदैन। आन्दोलनमा ज्यान गुमाउनुभएका हाम्रा वीर दाजुभाइ दिदीबहिनीहरूलाई श्रद्धाञ्जली। तपाईँहरूको सपना हामी अघि बढाउँछौँ।”

अनमोलले यो परिवर्तनलाई ‘नयाँ नेपालको सुरुवात’ भनेका छन्, जुन न्याय, समानता र समृद्धिको जगमा बन्ने उनको विश्वास छ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार शीतल निवासमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएकी छन्। उनी नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री हुन्। युवा पुस्ताको आन्दोलनपछि उनको नियुक्ति भएको हो।
प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै उनले साढे दुई वर्ष कार्यकाल बाँकी रहेको प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी छन्। यस कदमलाई नेपालको संसदीय इतिहासमा एक दुर्लभ घटना मानिएको छ, जहाँ नवगठित सरकारले जन निर्वाचित संसद् भङ्ग गरेको छ।






