
काठमाडौं – अभिनेता तथा निर्माता दीपकराज गिरीले नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीको नियुक्तिलाई लिएर आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गरेका छन्। उनले प्रतीकात्मक शैलीमा ‘आमा भएर बोकी हेर सन्तानका पिरहरू!’ भन्दै कार्कीलाई जिम्मेवारीको बोध गराएका छन्।
नेपालको राजनीतिमा युवा पुस्ता (जेन–जी)को आन्दोलनले ल्याएको यो परिवर्तनलाई धेरै कलाकारहरूले समर्थन गरिरहेका छन्। यसै क्रममा दीपकराज गिरीको यो भनाइलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ। गिरीले केही समयअघि मात्रै आफूले जेन-जी आन्दोलनलाई सहयोग गरेको भन्दै विभिन्न धम्कीहरू आएको कुरा सार्वजनिक गरेका थिए।

नेपालको संसदीय इतिहासमा यो एक दुर्लभ घटना हो। जेन–जीको आन्दोलनपछि सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो। उनले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेकी छन्। शपथ लिएको केही समयपछि नै उनले साढे दुई वर्ष कार्यकाल बाँकी रहेको प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी छन्।






