
काठमाडौं – अभिनेत्री आँचल शर्माले नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीको नियुक्तिलाई ‘आशा र सम्भावनाको नयाँ ढोका’ भनेकी छन्। उनले यसलाई जेन-जी (युवा पुस्ता) आन्दोलनको सफलताका रूपमा हेरेकी छन्, जसले पुराना राजनीतिक दलहरूको मनोमानी भत्काएको उनको भनाइ छ।
आँचलले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छन्, “जेन-जी आन्दोलनले पुराना दलको मनोमानी भत्काएर देशलाई पहिलो महिला प्रधानमन्त्री दिएको छ।” उनले यो केवल नेतृत्वको परिवर्तन मात्र नभएर पितृ सत्ताले जकडेको राजनीतिमा महिलाले निर्णायक ठाउँ पाएको ऐतिहासिक क्षण भएको बताएकी छन्।
उनले थप लेखेकी छन्, “अब देशको कथा पुराना सोचले होइन, नयाँ पुस्ताको सपना र महिलाको नेतृत्वले लेखिनेछ।” आन्दोलनमा ज्यान गुमाएका सहिदहरू र उनीहरूका परिवारलाई सम्झेर प्रधानमन्त्री कार्कीले उदाहरणीय काम गर्ने विश्वास पनि उनले व्यक्त गरेकी छन्। उनले भनेकी छन्, “प्रधानमन्त्रीले ५१ जनाको सहिद र उहाँहरूको परिवार सम्झेर सहादत व्यर्थ नजाने गरी उदाहरणीय काम गर्नु हुनेछ भन्ने कामना छ।”







