
काठमाडौं – अभिनेत्री स्वस्तिमा खड्काले नेपालको राजनीतिक परिवर्तनलाई ऐतिहासिक घटनाका रूपमा व्याख्या गरेकी छिन्। देशले पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पाएकोमा उनले गौरव महसुस गरेकी छिन्।
उनले आफ्नो सामाजिक सञ्जालमा ‘एक जुगमा एक दिन एक चोटि आउँछ, उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ’ भन्ने चर्चित गीतको हरफ उद्धृत गर्दै यस परिवर्तनलाई नयाँ युगको सुरुवात भनेकी छन्। उनले लेखेकी छन्, “हामीले नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीज्यूलाई पाएकोमा गौरव महसुस भएको छ। नयाँ युगको सुरुवात।”

साथै, उनले यस परिवर्तनका लागि योगदान दिने सबैलाई धन्यवाद ज्ञापन गरेकी छन्। उनले प्रधानसेनापति अशोकराज सिग्देल, अभियन्ता सुदन गुरुङ, राष्ट्रपति रामचन्द्र पौडेल र जेन-जीको आन्दोलनको तस्बिर साझा गर्दै लेखेकी छन्, “धन्यवाद। नयाँ नेपालले यहाँहरूलाई सम्झिरहनेछ।”







