
काठमाडौं – अभिनेता पल शाहले नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बनेकी सुशीला कार्कीलाई हार्दिक बधाई दिएका छन्। उनले यो क्षणलाई ‘देशको इतिहासमा सुनौलो अक्षरले लेखिने क्षण’ भन्दै प्रशंसा गरेका छन्।
पलले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, “नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त हुनु भएकी सम्माननीय पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीज्यूलाई हृदयदेखि हार्दिक बधाई अर्पण गर्दछु।”
उनले आमालाई घरको आधार मात्र नभई माया, अनुशासन र न्यायको प्रतीकको रूपमा व्याख्या गर्दै अब त्यही आमाको ममतामयी स्पर्शले मुलुकलाई नेतृत्व गर्ने अवसर पाएको बताएका छन्। उनले थप लेखेका छन्, “युवापुस्ताको दरिलो सपना र सङ्घर्षको प्रतिनिधित्व गर्दै तपाईँको नेतृत्वमा नयाँ आशाको यात्रा सुरु भएको छ।”
पलले जेन-जीको सपना, बलिदान र जनताको आशालाई केन्द्रमा राख्दै कार्कीको नेतृत्वमा उज्यालो भविष्यको बाटो खुल्ने विश्वास व्यक्त गरेका छन्। उनले आफू र अन्य युवाहरू न्याय, इमानदारिता र पारदर्शिताका लागि सधैँ नयाँ सरकारको साथमा रहने प्रतिबद्धता जनाएका छन्।
यस आन्दोलनमा ज्यान गुमाएका सहिदहरूप्रति उनले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सबै युवाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।







