
काठमाडौं – यस वर्षको फूलपातीमा चलचित्रप्रेमीहरूका लागि ठूलो सरप्राइज थपिएको छ। फूलपाती अर्थात् असोज १३ गते तीन नेपाली चलचित्र ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ सँगै अर्को नयाँ चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ पनि प्रदर्शनमा आउने भएको छ।
यसअघि भदौ २७ गते प्रदर्शनमा आउने भनिएको ‘अभिमन्यु : च्याप्टर १’ देशको विषम परिस्थितिका कारण स्थगित भएको थियो। निर्माताहरूले देशको परिवर्तनलाई सकारात्मक रूपमा लिँदै चलचित्र उद्योगलाई निरन्तर चलायमान बनाउने उद्देश्यका साथ नयाँ प्रदर्शन मिति घोषणा गरेको बताएका छन्। निर्माण कम्पनी सेभेन सिज सिनेमाले एक विज्ञप्ति जारी गर्दै फूलपातीको दिनदेखि नेपाल र विश्वभर एकसाथ चलचित्र प्रदर्शन हुने जानकारी दिएको छ।
‘अभिमन्यु’ का निर्माता विनोद पौडेलले भदौ २७ गतेका लागि गरिएको व्यापक प्रचारप्रसारमा ठूलो लगानी भइसकेकाले दर्शकलाई लामो समयसम्म पर्खिन लगाउन नसकिने बताएका छन्। उनले भने, “हामी सोलो रिलिजको मौका गुमाउँदा निराश छौँ। तर, परिस्थितिले हामीलाई यो मितिमा ल्याइपुर्याएको हो। कसैसँग जुध्ने उद्देश्य हाम्रो होइन। हामीले सरसल्लाह गरेर नै यो मिति तय गरेका हौँ।” उनले विदेशमा पनि शो लिइसकेकाले धेरै पर सर्न नसकेको बताए।
सुशान्त गौतम निर्देशित ‘अभिमन्यु : च्याप्टर १’ मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन्। मुकेश खनालको लेखन तथा मदन थापाको क्रिएटिभ निर्देशन रहेको यस चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता छन् भने विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता हुन्।

यस चलचित्र हिन्दी भाषामा भने असोज १७ गते भारत र विश्वभर प्रदर्शन हुनेछ।






