‘जारी २’ को प्रदर्शन कार्तिक ६ गतेलाई सर्‍यो, एकै दिन ४ चलचित्र रिलिज हुने



काठमाडौं – नेपाली चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’ को प्रदर्शन मिति परिवर्तन भएको छ। यसअघि असोज ३ गते संविधान दिवसको अवसरमा रिलिज हुने तयारीमा रहेको यो चलचित्र अब कार्तिक ६ गते अर्थात् भाइटिकाको दिनमा दर्शकमाझ आउने भएको छ। चलचित्रका निर्देशक उपेन्द्र सुब्बाका अनुसार, हाल देशमा चलिरहेको आन्दोलनका कारण प्रचार-प्रसारका लागि पर्याप्त समय नभएकाले चलचित्रको प्रदर्शन स्थगित गरिएको हो।

निर्माताले मङ्गलवार दुई नयाँ पोस्टर सार्वजनिक गर्दै नयाँ मितिको घोषणा गरेका हुन्। पहिलो पोस्टरमा प्रमुख कलाकारहरू दयाहाङ राई र मिरुना मगरलाई परम्परागत लिम्बू पहिरनमा प्रस्तुत गरिएको छ, जहाँ उनीहरू खुसी मुद्रामा देखिन्छन्। दोस्रो पोस्टरमा दयाहाङ र मिरुनासँगै बुद्धि तामाङ र विजय बराललाई पनि देख्न सकिन्छ।

बाँसुरी फिल्म्स् र कबड्डी फिल्म्स्को ब्यानरमा बनेको यो चलचित्रका निर्माताहरू रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन्। चलचित्रमा दयाहाङ, मिरुना, विजय र बुद्धिसहित ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, वेदना राई र सिर्जना निङ्लेखु लगायतका कलाकारहरूको अभिनय रहेको छ।

कार्तिक ६ गते अन्य तीन नेपाली चलचित्रहरू ‘सोल्टिनी’, ‘मैझारो’ र ‘वरिष्ठ बलराम’ पनि रिलिज हुँदैछन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu