काठमाडौं – कवि तथा निर्देशक उपेन्द्र सुब्बाको नयाँ चलचित्र ‘जारी २: सङ अफ च्याब्रुङ’को प्रदर्शन मिति फेरि एक पटक परिवर्तन भएको छ। यसअघि तिहारको भाइटिका (कात्तिक ६ गते) मा रिलिज हुने भनिएको यो चलचित्र अब कात्तिक २१ गतेदेखि मात्र दर्शकमाझ आउने भएको छ।
पछिल्लो समय युवाहरूमाझ चलेको जेनजी आन्दोलनका कारण यसअघि पनि चलचित्रको प्रदर्शन स्थगित गरिएको थियो। सुरुमा असोज ३ गतेका लागि तोकिएको प्रदर्शन मितिलाई सारेर कात्तिक ६ गते पुर्याइएको थियो। तर, निर्माता रामबाबु गुरुङले सामाजिक सञ्जालमार्फत चलचित्रको पोस्टर सेयर गर्दै अब नयाँ मिति कात्तिक २१ गतेलाई तय गरिएको जानकारी दिएका छन्। उनले यो निर्णय विभिन्न पक्षहरूसँगको गहन छलफलपछि गरिएको बताएका छन्।

‘जारी २’ सरेपछि तिहारमा प्रदर्शनको तयारीमा रहेका चलचित्रहरू ‘वरिष्ठ बलराम’, ‘सोल्टिनी’, र ‘मैझारो’ लाई भने ठुलो राहत मिलेको छ। तर, कात्तिक २१ गते नै रिलिजको तयारीमा रहेको अर्को चलचित्र ‘मन बिनाको धन’ लाई भने ‘जारी २’ जस्तो शक्तिशाली प्रतिस्पर्धी थपिएको छ।
लिम्बू समुदायको लोकबाजा च्याब्रुङमा आधारित यस चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ। यो चलचित्र २०७९ सालको सफल चलचित्र ‘जारी’ को दोस्रो भाग हो।
बाँसुरी फिल्म्स् र कबड्डी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण भएको ‘जारी २’ मा निर्देशक सुब्बा स्वयंको लेखन, सञ्जय लामाको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, कोविद बज्रको ब्याकग्राउन्ड स्कोर र राजेन्द्र मोक्तानको रङ संयोजन रहेको छ। चलचित्रका निर्माताहरूमा रामबाबु गुरुङ, मधु मिजार, र जीवन गुरुङ रहेका छन्।






