काठमाडौं – चलचित्र ‘परान’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। गोल्छा समूहको लगानी रहेको तथा बाइस्कोप सिनेमा कम्पनीले निर्माण गरेको यो चलचित्र कात्तिक १४ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शन हुँदैछ।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार महेश त्रिपाठी र अञ्जना बराइलीलाई रोमान्टिक तर गम्भीर भावमा देखाइएको छ। पोस्टरमा अञ्जना महेशको अँगालोमा छिन् र उनको सिउँदोमा सिन्दूर देखिन्छ, जसले उनीहरू विवाहित जोडी भएको सङ्केत गर्छ। चलचित्रको ट्याग लाइन ‘सासले हैन, साथले चल्ने’ राखिएको छ, जसले जीवनमा भौतिक अस्तित्वभन्दा पनि भावनात्मक सम्बन्ध र साथको महत्त्वलाई केन्द्रमा राखेको बुझ्न सकिन्छ।

प्रिज्मा समूहसँगको साझेदारीमा स्थापित बाइस्कोप सिनेमाको यो पहिलो प्रोजेक्ट हो। यसका निर्देशक दीपकप्रसाद आचार्यका अनुसार, ‘परान’ को पोस्ट-प्रोडक्सन कार्य लगभग अन्तिम चरणमा पुगेको छ र अब प्रचारप्रसारलाई तीव्र रूपमा अगाडि बढाइनेछ।
चलचित्रमा महेश त्रिपाठी र अञ्जना बराइलीका साथै वरिष्ठ कलाकार नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको छ। दीपक आचार्यको कथामा आधारित यस चलचित्रको पटकथा तथा संवाद यम थापाले लेखेका हुन्।






