दुई दशकपछि एकसाथ देखिँदै ‘दर्पण छायाँ’को लोकप्रिय जोडी, ‘महादशा’मा निरुता र उत्तमको कमब्याक



काठमाडौं – नेपाली चलचित्रका लोकप्रिय कलाकार द्वय निरुता सिंह र उत्तम प्रधान दुई दशकपछि फेरि एकसाथ पर्दामा देखिने भएका छन्। सन् २००३ मा प्रदर्शन भएको चलचित्र ‘उपहार’ पछि यो जोडीले चलचित्र ‘महादशा’ मार्फत पुनरागमन गर्न लागेको हो। यो कुराको पुष्टि चलचित्रका निर्देशक किरण नेपालीले सामाजिक सञ्जालमार्फत गरेका हुन्।

निर्देशक किरणले निरुता र उत्तमसँगको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘जीवनमा तपाईँहरूकै ‘दर्पण छायाँ’ जस्तो चलचित्र हेरेर प्रेरणा मिल्यो। आज आफ्नै निर्देशनमा हजुरहरूसँग काम गर्ने अवसर जुट्दा निकै खुसी छु। चलचित्रलाई राम्रो बनाउन हामी हर सम्भव प्रयास गर्नेछौँ।’ ‘दुई नम्बरी’ र ‘हात्तीछाप’ जस्ता चलचित्रको निर्माण गरिसकेका किरणले ‘महादशा’ बाट निर्देशनमा पाइला चाल्दैछन्।

हालै मात्र उत्तमले किरणको चलचित्र ‘कल्ली’ बाट १३ वर्षपछि कमब्याक गरेका थिए भने निरुता ६ वर्षपछि चलचित्र ‘३६ को आँकडा’ मार्फत पर्दामा फर्किएकी थिइन्।

दसैँपछि छायाङ्कन सुरु हुने यस ‘महादशा’मा प्रमोद अग्रहरी, प्रेमा लामगाढे, हाकिम गुरुङ र रेअर राई लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ। मनिष गौतमको लेखन रहेको ‘महादशा’ लाई राज के. शाह, श्याम मगर र अमला देवी राईले निर्माण गर्दैछन्। यो चलचित्रले नेपाली संस्कार र संस्कृतिसँगै मानिसको जीवनमा ग्रह-नक्षत्र र कर्मले पार्ने प्रभावलाई पनि कथावस्तु बनाएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu