
काठमाडौं – नेपाली चलचित्रका अभिनेता अनुपविक्रम शाहीले बलिउड प्रवेश गरेका छन्। बलिउड सुपरस्टार सलमान खानको चलचित्र ‘ब्याटल अफ गल्वान’मा उनी सलमानसँगै अभिनयमा देखिने भएका छन्। अनुपले आफ्नो सामाजिक सञ्जालमार्फत यो खबर सार्वजनिक गरेका हुन्।

सलमान खान फिल्म्सको ब्यानरमा निर्माण भइरहेको यो युद्ध कथामा अनुपले सलमानसँग महत्त्वपूर्ण भूमिका निर्वाह गरेको जनाएका छन्। सन् २०२० मा भारत र चीनका सैनिकबीच गल्वान उपत्यकामा भएको झडपमा आधारित यो चलचित्रमा सलमान भारतीय सेनाका कर्नेल सन्तोष बाबुको भूमिकामा देखिँदै छन्। यो सलमानको करियरकै पहिलो बायोपिक हो।
यसको पहिलो चरणको छायाङ्कन भारत-चीनको हिमाली बोर्डर लद्दाखमा सम्पन्न भइसकेको छ। हालै मात्र अनुप छायाङ्कन सकेर नेपाल फर्किएका छन्। बलिउड डेब्यू र सलमानसँगको अनुभवबारे उनले भने, “अनुभव एकदमै रमाइलो रह्यो। सलमानलाई मैले जस्तो सोचेको थिएँ, उहाँ त्योभन्दा पनि विनम्र, सहयोगी र सकारात्मक व्यक्तित्वको हुनुहुँदो रहेछ।”






