
काठमाडौं – जेन-जी आन्दोलनका कारण ठुलो क्षति बेहोरेको थानकोट प्रहरी चौकीलाई सहयोग गर्न कलाकार तथा चलचित्र निर्माता दीपकराज गिरीले आर्थिक सहायता प्रदान गरेका छन्। आफ्नो जन्मस्थल काठमाडौँको थानकोटमा रहेको प्रहरी वृत्तको पुनर्निर्माणका लागि उनले पाँच लाख रुपैयाँ सहयोग गरेका हुन्।
प्रहरी उपरीक्षक एलिजा गिरीलाई उक्त सहयोग हस्तान्तरण गर्दै दीपकराज गिरीले प्रहरीको मनोबल बढाउनका लागि यो सहयोग गरिएको बताएका छन्। उनले यो सुरुवात मात्र भएको र परिस्थिति अनुसार भविष्यमा अन्य ठाउँमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
पाँच महिनाअघि मात्रै नयाँ भवनबाट सञ्चालनमा आएको थानकोट प्रहरी चौकीमा आन्दोलनका क्रममा आगजनी र तोडफोड हुँदा ठुलो क्षति पुगेको थियो। प्रहरीका अनुसार यस घटनामा करोडौँ मूल्य बराबरका प्रविधि, सञ्चारका उपकरण, पोसाक र संरचनामा क्षति पुगेको छ। यसबाट कुल सात करोड रुपैयाँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान छ।






