
काठमाडौं – नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को प्रदर्शन मिति फेरि सारिएको छ। यसअघि असोज १३ गते अर्थात् दसैँको फूलपातीमा रिलिज हुने भनिएको यो चलचित्र अब असोज २४ गते देखि मात्र प्रदर्शनमा आउने भएको छ।
निर्माण पक्षले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रदर्शन मिति परिवर्तन गरिएको जानकारी दिएको हो। विज्ञप्तिमा भनिएअनुसार, असोज १३ गते एकैसाथ चार वटा नेपाली चलचित्र प्रदर्शनमा आउने भएपछि पर्याप्त शो उपलब्ध नहुने चिन्ता बढेको थियो। चलचित्र प्रदर्शक र वितरकहरूको अनुरोधलाई ध्यानमा राख्दै यो निर्णय लिइएको बताइएको छ।
यस पटक चलचित्रले सोलो रिलिजको मौका पाएको छ, जसलाई निर्माण पक्षले सकारात्मक अवसरका रूपमा लिएको छ। ‘अभिमन्यु : च्याप्टर १’ अब नेपाली र हिन्दी दुवै भाषामा नेपालका साथै भारत र विश्वव्यापी रूपमा एकैसाथ प्रदर्शन हुनेछ।
विज्ञप्तिमा, यसअघि भदौ २७ गते प्रदर्शन गर्ने तयारी गरिए पनि देशमा भएको ‘जेन–जी आन्दोलन’का कारण मिति स्थगित गर्नुपरेको उल्लेख गरिएको छ। निर्माण पक्षले पहिले नै सबै मार्केटिङ सामग्री प्रयोग गरिसकेको र फेरि असोज १३ गते धेरै चलचित्रसँग जुध्दा पर्याप्त शो नपाउने अवस्था देखिएकाले सबै पक्षलाई विचार गरी असोज २४ लाई अन्तिम मिति तय गरेको जनाएको छ।
सेभेन सिज सिनेमाको प्रस्तुति रहेको यस चलचित्रमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन्।
सुशान्त गौतमले निर्देशन गरेको यस चलचित्रका क्रिएटिभ निर्देशक मदन थापा हुन् भने लेखन मुकेश खनालले गरेका छन्। विनोद पौडेल र गुञ्जन गिरीले निर्माण गरेको यो चलचित्रका सह-निर्माताहरूमा रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन्। कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।







