
काठमाडौं – नेपाली र भारतीय चलचित्रकर्मीहरूको संयुक्त प्रयासमा नयाँ चलचित्र ‘मोना लिसा (ब्लडी लभ)’ निर्माण हुने भएको छ। ‘बी एन्ड के इन्टरटेन्मेन्ट’ र ‘अक्स इन्टरनेसनल स्टुडियोज’ को संयुक्त ब्यानरमा बन्न लागेको यो चलचित्रलाई नेपाली चलचित्र उद्योगमा एक महत्त्वपूर्ण प्रोजेक्टका रूपमा हेरिएको छ।
नवदुर्गाको पहिलो दिन अर्थात् घटस्थापनाको शुभ साइत पारेर चलचित्र निर्माणको औपचारिक घोषणासँगै यसको टाइटल पोस्टर पनि सार्वजनिक गरिएको छ। यो चलचित्रको लेखन तथा निर्देशन किङ योगीले गर्नेछन्।
निर्माण पक्षका अनुसार यो एक ठुलो बजेटको चलचित्र हुनेछ, जसमा भारत लगायत अन्य विभिन्न देशका अनुभवी प्राविधिक टोलीको सहभागिता रहनेछ। ‘अक्स इन्टरनेसनल स्टुडियोज’ ले दिएको जानकारी अनुसार यसअघि ठुला अन्तर्राष्ट्रिय चलचित्रहरूमा काम गरिसकेका प्राविधिकहरू यस प्रोजेक्टमा जोडिएकाले यसको प्राविधिक पक्ष निकै बलियो हुने अपेक्षा गरिएको छ।
हाल चलचित्रको प्रारम्भिक तयारी चलिरहेको छ र कलाकार छनोटको प्रक्रिया अगाडि बढाइएको छ।






