
काठमाडौं – निर्देशक राज बहादुर सानेको नयाँ चलचित्र ‘लज्जावती’ को छायांकन सोमबारबाट सुरु भएको छ। बडादशैंको शुभ अवसर पारेर घटस्थापनाकै दिन पशुपतिनाथ मन्दिर परिसरमा चलचित्रको शुभमुहूर्त गरिएको थियो।
चलचित्रको पहिलो मुहूर्त सट लेखक प्रदीप भारद्वाजले निर्देशन गरेका थिए। सो सटमा चलचित्रका मुख्य कलाकारहरू मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझी र जानुका विश्वकर्माले अभिनय गरेका थिए।
चलचित्रको सम्पूर्ण छायांकन काठमाडौं आसपासमा गरिनेछ र यसको कार्यतालिका ३० दिनको छ। आहा फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यो चलचित्रका प्रस्तुतकर्ता सौरभ वली हुन्। कमल प्रसाद शर्मा र सन्दीप रोकाया निर्माता रहेको यस चलचित्रमा दिपक भण्डारी कार्यकारी निर्माता तथा भिमराज रोकाया सह-निर्माताको भूमिकामा छन्।
चलचित्रमा मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझी र जानुका विश्वकर्माका साथै माओत्से गुरुङ, सुशिल पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल र रामहरी खड्का लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ।






