
काठमाडौं – आउँदो कार्तिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मैझारो’ को टिजर सोमबार सार्वजनिक भएको छ। टिजरमा मुख्य कलाकारहरू धिरज मगर, मिरुना मगर र दिया पुन बीचको त्रिकोणात्मक प्रेमकथालाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ।
इलामको रमणीय गाउँले परिवेशमा सुरु भएको टिजरमा धिरज मगरलाई देख्न सकिन्छ। चिया बगानमा चिया टिप्ने डोको बोकेकी मिरुना मगरको दृश्यसँगै धिरज र मिरुनाको प्रेम उजागर हुन्छ। तर, कथामा एउटा मोड आउँछ, जहाँ धिरज कुनै बाध्यताले दिया पुनसँग नजिकिएको देखाइएको छ।
हास्य कलाकारको रूपमा चिनिएका विल्सन विक्रम राई (तक्मेबुढा) ले निर्देशन गरेको यो चलचित्र कमेडी नभई एक मौलिक प्रेमकथामा आधारित रहेको टिजरले प्रस्ट पारेको छ। दर्शकले विल्सनबाट हास्य प्रधान फिल्मको अपेक्षा गरे पनि उनले किराँती मौलिकता र भावनात्मक सम्बन्धलाई कलात्मक ढङ्गले प्रस्तुत गरेका छन्।
विल्सनकै कथामा निर्माण भएको ‘मैझारो’ मा धिरज, मिरुना र दियाका साथमा दयाहाङ राई, बुद्धि तामाङ, सुनिल थापा, पुष्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारहरूको अभिनय छ।
टिजर:






