
काठमाडौं – तिहारको अवसर पारेर आगामी कार्तिक ६ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘वरिष्ठ बलराम’ले आफ्नो पहिलो गीत ‘न्यौली बनैमा’ सार्वजनिक गरेको छ। यो गीतमा गायक प्रशान्त सिवाकोटी र लोकप्रिय गायिका शान्तीश्री परियारको स्वर रहेको छ। गीतको शब्द र सङ्गीत पनि प्रशान्त सिवाकोटीले नै तयार पारेका हुन्। गीतले एक प्रेमिल जोडीको कथा प्रस्तुत गरेको छ, जसमा प्रेमीले प्रेमिकालाई सधैँ साथ दिने सपना देख्छन् भने प्रेमिकाले भने उनका बानी व्यवहारमा शङ्का व्यक्त गर्छिन्। गीतमा प्रेमिकाको शङ्कालाई चिर्दै प्रेमीले विश्वासको आग्रह गरेको आकर्षक दृश्य समेटिएको छ।
भिडियोमा चलचित्रका मुख्य कलाकार विजय बराल र समृद्धि अर्यालको अभिनय देख्न सकिन्छ। सुरेन्द्र पौडेलको निर्देशनमा बनेको ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी र प्रदीप कुमार चौधरी लगायतका दिग्गज कलाकारहरूको अभिनय छ। यो चलचित्रको कथा निर्देशक पौडेल आफैँले लेखेका हुन् भने पटकथा महेश दवाडीले तयार पारेका छन्।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुति र आन्भी फिल्म्सको सहकार्यमा बनेको यस चलचित्रका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन्। चलचित्रमा मनकृष्ण महर्जनको छायाङ्कन, प्रशान्त सिवाकोटीको सङ्गीत, सम्राट बस्नेतको एक्सन र प्रदीप लामाको नृत्य निर्देशन रहेको छ।
गीत:






