फूलपातीका तीन चलचित्र ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’को अग्रिम टिकट बिक्री सुरु



काठमाडौं – असोज १३ गते फूलपातीको अवसरमा रिलिज हुन लागेका तीन चलचित्रहरू ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ को अग्रिम टिकट बिक्री सुरु भएको छ। रिलिज मितिभन्दा ६ दिन अगाडि नै बुधवारदेखि देशभरका हलहरूमा बिहान ५ बजेदेखि मध्यरात ११:५५ बजेसम्मका शोहरू खुल्ला गरिएको हो। दसैँलाई नेपाली चलचित्रको व्यापारका लागि निकै राम्रो समय मानिने भएकाले निर्माताहरू यो बेला चलचित्र प्रदर्शन गर्न लालायित हुने गरेका छन्।

बलिदान

समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी लगायतका कलाकारहरूको अभिनय रहेको चलचित्र ‘बलिदान’ को वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स र उपत्यकाबाहिर कुवेर सिने डिस्ट्रिब्युसनले गरिरहेका छन्।

बुधवारदेखि नै नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाज ले करिब १०० शो ‘बलिदान’लाई दिएको छ। यो सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ। त्यसै गरी, दोस्रो ठुलो मल्टिप्लेक्स चेन आइएनआइ सिनेमाज ले पनि यस चलचित्रलाई उल्लेख्य शो दिएको छ। देशभरका अन्य हलहरूमा पनि ‘बलिदान’ले उच्च सङ्ख्यामा शो पाएको छ। समाचार तयार पार्दासम्म करिब २०० शो सुनिश्चित भइसकेको र यो सङ्ख्या ३०० सम्म पुग्न सक्ने वितरकले बताएका छन्। अग्रिम टिकट बिक्री सुरु हुने बित्तिकै केही हलहरूमा दर्शकले व्यापक रूपमा टिकट खरिद गरिरहेको देखिएको छ।

‘आसुसेन फिल्म्स प्रा.लि.’ को ब्यानरमा बनेको यस चलचित्रमा सन्तोष सेन को निर्देशन रहेको छ भने पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्माता रहेका छन्।

माइतीघर

रोहित अधिकारी फिल्म्स को ब्यानरमा निर्माण भएको र मिलन तामाङ ले निर्देशन गरेको चलचित्र ‘माइतीघर’ मा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

यो चलचित्रले तामाङ समुदायको संस्कृति र कथालाई विशेष रूपमा प्रस्तुत गरेको छ। यस चलचित्रलाई पनि देशभरका अधिकांश हलहरूले शो प्रदान गरिसकेका छन् र दर्शकले टिकट किन्न सुरु गरिसकेका छन्। रबिन शेरचन र धिरज तामाङ ले लगानी गरेको यस चलचित्रमा ईश्वर श्रेष्ठ र नीरज कटुवाल कार्यकारी निर्माताका रूपमा छन्। चलचित्रको कथा चन्द्रकुमार दोङ ले लेखेका हुन् भने पटकथा र संवाद रामशरण पाठक ले तयार पारेका छन्।

हरिबहादुरको जुत्ता

हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पनि देशभर शो खुलेको छ। दर्शकहरूले आफ्नो अनुकूल समयमा मन पर्ने कलाकारको चलचित्र हेर्न टिकट खरिद गरिरहेका छन्।

दीपेन्द्र के खनाल निर्देशित यस चलचित्रमा वरिष्ठ कलाकार हरिवंश आचार्य मुख्य पात्र ‘हरिबहादुर’ को भूमिकामा छन्। टेलिभिजनमा निकै लोकप्रिय बनिसकेको यो पात्रको जीवनमा आउने हास्यपूर्ण उतारचढावलाई चलचित्रको ट्रेलरमा समेटिएको छ। एसएम मोसन पिक्चर्स को ब्यानरमा निर्माण भएको यो चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्य ले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu