पोस्टरमा हेर्नुहोस् अशोक दर्जीको ‘जिरोदेखि हिरोसम्म’को कथा



काठमाडौं – चर्चित सङ्गीतकार टङ्क बुढाथोकीको निर्देशन तथा निर्माणमा बनेको चलचित्र ‘मन बिनाको धन’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। यो चलचित्र गायक अशोक दर्जीको जीवनमा आधारित रहेको छ। पोस्टरमा अशोक दर्जीको सङ्घर्षपूर्ण यात्रालाई विशेष रूपमा प्रस्तुत गरिएको छ।

पोस्टरमा अशोकलाई स्कुले विद्यार्थीको रूपमा पुस्तक र कलम बोकेको अवस्थामा मुस्कुराउँदै देखाइएको छ। पोस्टरको पृष्ठ भागमा भने उनको बाल्यकालको दुई फरक तस्बिरहरूलाई संयोजन गरिएको छ। एउटा तस्बिरमा उनी झापाको सडकमा गीत गाउँदै हिँडेको क्षण छ भने अर्कोमा उनको पहिलो हिट गीत ‘मन बिनाको धन’को झलक देखाइएको छ। यी तस्बिरहरूले चलचित्रमा उनको बाल्यकालदेखि हालसम्मको सम्पूर्ण यात्रालाई चित्रण गर्ने सङ्केत गर्छ।

‘कथा जिरोदेखि हिरोसम्म’को ट्याग लाइन प्रयोग गरिएको यस चलचित्रमा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, निता ढुङ्गाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शङ्कर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियङ्का झा, विनय अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रमा टङ्क बुढाथोकीकै कथा र सङ्गीत रहेको छ। यसको पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन्। सौरभ लामाको छायाङ्कन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, टङ्क बुढाथोकीको सङ्गीत तथा मित्र डी. गुरुङको सम्पादन रहेको छ। विष्णु माया मैनालीले निर्माण गरेको यस चलचित्रको कार्यकारी निर्मातामा सपना शर्मा छन्। यो चलचित्र आगामी कात्तिक २१ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu