बाढी प्रभावित भई हल पुग्न नसके क्युएफएक्सले टिकट ‘रिफन्ड’ गर्ने



काठमाडौं – नेपालको सबैभन्दा ठुलो सिनेमा हल चेन क्युएफएक्स सिनेमाजले देशका विभिन्न क्षेत्रमा बढ्दो नदीको सतहका कारण आएको बाढीले प्रभावित दर्शकका लागि विशेष व्यवस्था गर्दै टिकट फिर्ता (रिफन्ड) नीतिको घोषणा गरेको छ।

कम्पनीले शनिवार सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै लेखेको छ, “बढ्दो नदीको सतहका कारण केही क्षेत्रहरू बाढीले प्रभावित भएका छन्। तपाईँको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो। यदि तपाईँ सिनेमा हलसम्म पुग्न सक्नुहुन्न भने तपाईँको टिकट पूर्ण रूपमा फिर्ता गरिनेछ।” यो नीति क्युएफएक्स चेनका देशभरका हलहरूमा लागु हुने जनाइएको छ।

हाल क्युएफएक्स सिनेमा चेनमा नेपाली चलचित्रहरू ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ रहेका छन् भने, विदेशी चलचित्रहरूमा भारतीय ‘कान्तारा’ र ‘जोली एलएलबी ३’, हलिउडका ‘वन ब्याटल अफ्टर एनदर’ र ‘द कन्ज्युरिङ : लास्ट राइट्स’, साथै जापानी एनिमे ‘डिमन स्लेयर : किमेत्सु नो याइबा – द मूभी : इन्फिनिटी क्यासल’ प्रदर्शनमा छन्।

शनिवारदेखि तीन दिनसम्म नेपालमा भारी वर्षाको चेतावनी जारी रहेका बेला क्युएफएक्स सिनेमाको यो निर्णय दर्शकको सुरक्षालाई प्राथमिकता दिने उद्देश्यले गरिएको हो। शनिवार दिनभरको वर्षाले चलचित्रको व्यापारमा असर पुर्‍याएको छ भने आइतबारदेखि अझ बढी असर पर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu