‘अभिमन्यु’को प्रदर्शन मिति फेरी सर्‍यो



काठमाडौं – नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति फेरि एक पटक सारिएको छ। देशको वर्तमान अवस्था तथा दर्शकको सहजतालाई ध्यानमा राख्दै प्रदर्शनको तालिका हेरफेर गरिएको निर्माताले बताएका छन्। यसअघि, यो चलचित्र असोज २४ गते बाट प्रदर्शनमा आउने घोषणा गरिएको थियो। अब भने ‘अभिमन्यु : च्याप्टर १’ कार्तिक २१ गते (नोभेम्बर ७) बाट दर्शकमाझ आउने भएको छ।

चलचित्रका निर्माता विनोद पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ मितिको घोषणा गर्दै यसको कारण प्रस्ट पारेका छन्। उनको भनाइअनुसार, दर्शकहरूले सुरक्षित र सहज वातावरणमा चलचित्र हेर्न पाउन् भन्ने उद्देश्यका साथ यो निर्णय लिइएको हो। उनले यो प्रतिकूल परिस्थितिमा पनि दर्शक तथा शुभचिन्तकहरूको साथ र सहयोगको अपेक्षा राखेका छन्।

‘अभिमन्यु : च्याप्टर १’ नेपाली दर्शकमा मात्र सीमित नभई विश्वभरका दर्शकहरूलाई लक्षित गरेर निर्माण गरिएको छ। यो चलचित्र नेपालभरका सिनेमा घरहरूमा नेपाली र हिन्दी दुवै भाषामा एकसाथ प्रदर्शन हुनेछ। साथै, निर्माण पक्षका अनुसार, यसको विश्वव्यापी प्रदर्शन पनि कार्तिक २१ गतेदेखि नै भारत र विश्वका अन्य विभिन्न देशहरूमा हुनेछ। यो कदमले चलचित्रलाई बृहत् अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सहयोग पुग्ने विश्वास गरिएको छ।

सेभेन सिज सिनेमाको ब्यानरमा निर्मित यो चलचित्रमा कामेश्वर चौरासिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ। चलचित्रको निर्देशन सुशान्त गौतमले गरेका छन् भने मदन थापा क्रिएटिभ निर्देशकका रूपमा संलग्न छन्। यसको कथावस्तु मुकेश खनालले तयार पारेका हुन्।

‘अभिमन्यु : च्याप्टर १’ का निर्माताहरूमा विनोद पौडेल र गुञ्जन गिरी रहेका छन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता छन् भने विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ ले कार्यकारी निर्माता को जिम्मेवारी सम्हालेका छन्। चलचित्रको लाइन प्रोड्युसर को रूपमा जीवन शाक्य रहेका छन्।

यसमा शरद महतोको डिओपी, मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रङ्ग संयोजन र मदन घिमिरेको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu