
काठमाडौं – फूलपातीको दिनबाट प्रदर्शनमा आएको ‘माइतीघर’ चलचित्रले आफ्नो शीर्ष गीतमा आयोजना गरेको भिडियो प्रतियोगिताको परिणाम सार्वजनिक भएको छ। ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको उक्त लोकप्रिय गीतमा आयोजित भिडियो च्यालेन्जको विजेता घोषणा गरिएको हो।
निर्माता पक्षका अनुसार, यस गीतमा एक हजारभन्दा बढी प्रतियोगीहरूले भिडियो बनाएर पठाएका थिए। तीमध्येबाट कोरियोग्राफर कविराज गहतराजले निर्णायकका रूपमा दुई जनालाई संयुक्त विजेता चयन गरेका छन्। विशेष कुरा के छ भने, दुवै विजेता बुटवल क्षेत्रका छन्।
बुटवलका सुरज सिंजाली मगर र बुटवल, कालिकानगरमा रहेको नाश्री डान्स एकेडेमीका बालिकाहरूको समूह यस प्रतियोगिताका संयुक्त विजेता बनेका छन्। निर्माण पक्षले दुवै प्रतियोगी समूहको अङ्क बराबर आएकाले संयुक्त विजेता घोषणा गरिएको जनाएको छ।
प्रतियोगिताका विजेताका लागि ५ लाख रुपैयाँ नगद पुरस्कार घोषणा गरिएको थियो। निर्माता अधिकारीले भने– “यस पटक सुरज सिंजाली र नाश्री डान्स एकेडेमीका बहिनीहरूको प्रतिस्पर्धा साँच्चै नै कडा रह्यो। त्यसैले, निर्णायक कविराज गहतराजज्यूले दुवैलाई विजेता घोषणा गर्नुभएको छ। अब हामी दुवै समूहलाई जनही साढे दुई लाख (२,५०,०००) रुपैयाँ पुरस्कार प्रदान गर्नेछौँ।”
मिलन तामाङको निर्देशनमा बनेको यो फिल्मको व्यावसायिक यात्रा सुखद रूपमा अगाडि बढिरहेको छ। यसमा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय रहेको छ।






