दयाहाङ, दिया, धिरज र मिरुनाको साकेला नाच, ‘मैझारो’को गीत सार्वजनिक



काठमाडौं – कार्तिक ७ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मैझारो’ ले दसैँको पूर्णिमाको अवसर पारेर आफ्नो दोस्रो गीत ‘साकेला नाचौँ’ सार्वजनिक गरेको छ। दर्शकमाझ फिल्मको उत्सुकता (हाइप) बढिरहेका बेला निर्माण पक्षले प्रदर्शन मिति नजिकिएसँगै यो आकर्षक गीत सार्वजनिक गरेको हो।

ओएसआर डिजिटलको युट्युब च्यानलबाट रिलिज गरिएको यस गीतमा चर्चित गायक राजेश पायल राई र गायिका मेलिना राई को स्वर सुन्न सकिन्छ। गीतमा पदम साधना कुलुङको शब्द रचना र तोरेम्पाहाङ राईको सङ्गीत रहेको छ।

गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरूको प्रस्तुति देख्न सकिन्छ। अभिनेता दयाहाङ राई, धिरज मगर, अभिनेत्री दिया पुन र मिरुना मगर ले मौलिक साकेला नृत्यमा छमछमी गरेका छन्। साकेला नाच विशेष गरी नेपालको पूर्वी भेगमा बसोबास गर्ने किराँत (राई) समुदायको महत्त्वपूर्ण पर्व हो, जुन धान रोप्ने र बाली भित्र्याउने बेला मनाइन्छ।

निर्माण पक्षका अनुसार लिम्बू र राई समुदायबीचको प्रेम सम्बन्धको कथामा बुनिएको यो फिल्मका लागि कथावस्तु सुहाउँदो साकेला गीत उपयुक्त रहेको छ। यसअघि रिलिज भएको ‘तिमीलाई के थाहा सानु’ गीतले पनि चर्चा बटुलिरहेको बेला यो नयाँ साकेला गीतले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ। यसले गर्दा तिहारको समयमा पूर्वी नेपालमा यो गीत निकै लोकप्रिय हुने अनुमान गरिएको छ।

‘मैझारो’ हाँस्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा) को पहिलो निर्देशकीय प्रयास हो। मौलिक नेपाली प्रेम कथामा आधारित यो फिल्ममा धिरज मगर र मिरुना मगरको मुख्य जोडीका साथमा दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुष्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu