‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक



काठमाडौं – चलचित्र ‘वरिष्ठ बलराम’ को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले ढुङ्गा, बालुवा र खोलामाथि ‘दादागिरी’ चलाउने एक ठेकेदार र आफ्नो हैसियत परिवर्तन गर्न चाहने एक महत्त्वाकांक्षी युवाबीचको कटु सङ्घर्ष लाई सशक्त रूपमा प्रस्तुत गरेको छ।

चलचित्रका मुख्य दुई पात्रहरू – रवाफिलो ठेकेदार दयाहाङ राई (‘वरिष्ठ’ को भूमिकामा) र सङ्घर्षशील युवा विजय बराल (‘बलराम’ को भूमिकामा) को टसल नै ट्रेलरको केन्द्रमा छ।

खोलाको ढुङ्गा, गिट्टी र बालुवामाथि एकछत्र राज जमाएका दयाहाङको ‘साम्राज्य’ मा विजयले आँखा गाडेपछि कथामा तीव्र द्वन्द्व सुरु हुन्छ। विजयको मनमा आफ्नो गरिबीका कारण सधैँ हेपिनु परेको तीतो अनुभव छ, जसले उनलाई ‘चोला फेर्ने’ अठोट गर्न प्रेरित गर्छ। अर्कोतर्फ, दयाहाङ आफ्नो वर्चस्वमा कसैको हस्तक्षेप स्वीकार गर्न तयार छैनन्। गुन्डाहरूको साथमा दबदबा कायम राख्न हिँड्ने दयाहाङ र आफ्नो हैसियत उकास्ने धुनमा लागेका विजयको नोकझोक ले ट्रेलरलाई रोमाञ्चक बनाएको छ।

सुरेन्द्र पौडेल निर्देशित यो चलचित्र आगामी कात्तिक ६ गते अर्थात् यस वर्षको भाइटिका को अवसर पारेर प्रदर्शनमा आउँदैछ। यसमा दयाहाङ राई र विजय बराल सँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके)लगायतका अनुभवी कलाकारहरूको अभिनय रहेको छ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन्। वृषभ सिद्धी इन्टरटेनमेन्ट र आन्भी फिल्मसको सहकार्यमा बनेको यस चलचित्रका निर्माताहरूमा आशिष् एच तामाङ र श्रीराज कार्की रहेका छन्। प्रदीप जी धामी र पुष्कर बि घिमिरे कार्यकारी निर्माता हुन्।

मनकृष्ण महर्जनले छायाङ्कन गरेको यो चलचित्र प्रशान्त सिवाकोटीको सङ्गीत, सम्राट् बस्नेतको एक्सन तथा प्रदीप लामाको नृत्य निर्देशन रहेको छ। चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu