
काठमाडौं – नेपाली चलचित्र ‘ककाकिकी’को औपचारिक छायाङ्कन सुरु भएको छ। बिहीबार बिहान शुभ मुहूर्तका साथ पर्वत जिल्लाको भूकदेउरालीबाट छायाङ्कन सुरु भएको हो।
चर्चित हास्य कार्यक्रम ‘कमेडी दरबार’को निर्माण टिमले बनाउन लागेको यस चलचित्रको ३५ दिनको तालिका बनाएर छायाङ्कन अघि बढाइएको बताइएको छ। पहिलो २० दिनसम्म पर्वतको रमणीय गाउँ परिवेशमा दृश्यहरू कैद गरिनेछ भने बाँकी छायाङ्कन काठमाडौंमा हुने निर्देशक विक्की अग्रवालले जानकारी दिएका छन्।
पहिलो दिनको छायाङ्कनका लागि फिल्मका प्रायः सबै मुख्य कलाकारहरू पर्वत पुगिसकेका छन्। अभिनेत्रीहरू तृप्ति नाडकर, रेखा थापा, दिया मास्केसँगै अभिनेताहरू सुभाष गजुरेल, महेश त्रिपाठी, सुवर्ण थापा लगायतका कलाकारहरू अहिले छायाङ्कनमा व्यस्त छन्।
अर्की निर्देशक श्रद्धा प्रसाईँका अनुसार वरिष्ठ अभिनेत्री गौरी मल्ल केही दिनमै टिममा जोडिनेछिन्। प्रसाईँले थपिन् कि केही अन्य कलाकारहरू आवश्यकता अनुसार बीचमा जोडिनेछन्।
‘ककाकिकी’लाई ‘कमेडी दरबार’कै निर्देशक द्वय विक्की अग्रवाल र श्रद्धा प्रसाईँले संयुक्त रूपमा निर्देशन गरिरहेका छन्। कथा लेखनमा विक्की अग्रवालसँगै विकास अर्याल र सरोज भण्डारीको सहकार्य रहेको छ। पटकथा (स्क्रिनप्ले) स्वयं विक्की अग्रवालले तयार पारेका हुन् भने विश्वास तिम्सिना स्क्रिप्ट डाक्टरको रूपमा रहेका छन्। चलचित्रमा सुदिप बरालको छायाङ्कन (डिओपी) रहनेछ भने अनीश बुढाथोकी सहायक निर्देशकको भूमिकामा छन्।






