निर शाहको जन्मदिनको अवसर पारेर ‘परान’को पोएटिक टिजर सार्वजनिक



काठमाडौं – चलचित्र ‘परान’ले प्रदर्शनको मिति नजिकिँदै गर्दा एक मन छुने ‘पोएटिक टिजर’ सार्वजनिक गरेको छ। आगामी कार्तिक १४ गतेलाई प्रदर्शन मिति तोकिएको यस चलचित्रको टिजर सोमबार वरिष्ठ अभिनेता निर शाहको जन्मदिनको पावन अवसर पारेर सार्वजनिक गरिएको हो।

सार्वजनिक गरिएको काव्यिक टिजरमा कवि नवराज पराजुलीको मर्मस्पर्शी शब्द र आवाजलाई प्रमुख रूपमा प्रयोग गरिएको छ। ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत रिलिज भएको यस टिजरमा अभिनेता निर शाहको मनोगत भावनालाई कविताको रूपमा प्रस्तुत गरिएको छ। यसमा जीवनको उत्तरार्धमा पुगेका एक बुबाले आफ्ना छोराबाट जीवनको अन्तिम क्षणसम्म साथ र सहाराको अपेक्षा राखेको मार्मिक सन्देश सुन्न सकिन्छ।

कवि पराजुलीका शब्दहरूले छोरालाई ईश्वरले दिएको अमूल्य उपहारको रूपमा चित्रण गर्दै, जसरी बुबाले छोरालाई हुर्काए, बढाए, ठिक त्यसरी नै छोराले पनि बुबालाई जीवनको अन्तिम घडीसम्म साथ दिनुपर्ने हार्दिक मनोभावलाई अभिव्यक्त गरेका छन्।

टिजरमा अर्थपूर्ण शब्दहरूलाई अभिनेता निर शाहको अभिनय र भावभङ्गीमार्फत मुख्य रूपमा देखाइएको छ। उनीसँगै टिजरमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, बुद्धि तामाङ, प्रवीण खतिवडा, पूजा चन्द तथा अञ्जना बराइली लगायतका कलाकारहरूको झलक पनि समावेश छ।

यो पोएटिक टिजरले चलचित्रको मूल विषयवस्तुतर्फ दर्शकलाई सङ्केत गरेको छ। यसले बुबा र छोराको सम्बन्ध, सामाजिक परिस्थिति तथा समयको उतारचढावले सम्बन्धमा ल्याउने आरोह-अवरोहको भावनात्मक कथा प्रस्तुत गर्ने प्रस्ट देखाएको छ। सार्वजनिक टिजरको प्रस्तुतिले ‘परान’ एउटा गतिलो र गहन पारिवारिक कथावस्तु भएको चलचित्र हुने बलियो सङ्केत दिएको छ।

‘सक्किगोनी’ फेम दीपकप्रसाद आचार्य (काकु)को डेब्यु निर्देशन रहेको यस चलचित्रमा निर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ।

रिदम कँडेलको सङ्गीतमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमाललगायतले स्वर दिएका छन्। शिवराम श्रेष्ठले छायाङ्कन गरेको यस चलचित्रलाई मित्र डि. गुरुङले सम्पादन गरेका हुन्।

देशकै प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले ‘परान’को निर्माण गरेको हो। देशको ठुलो व्यापारिक घरानाले निर्माणमा हात हालेका कारण पनि यो चलचित्र व्यावसायिक र गुणस्तरीय दुवै दृष्टिकोणले धेरै दर्शकको प्रतीक्षामा रहेको छ।

टिजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu