‘वरिष्ठ बलराम’मा मेरो भूमिका ‘शो पिस’ मात्र होइन, ‘इम्प्याक्टफुल’ छ: समृद्धि अर्याल



काठमाडौं – नायिका समृद्धि अर्यालले आसन्न चलचित्र ‘वरिष्ठ बलराम’मा आफ्नो भूमिका निकै प्रभावशाली रहेको दाबी गरेकी छन् । उनले चलचित्रमा आफ्नो उपस्थिति महत्त्वपूर्ण स्थान र समयमा हुने बताउँदै आफू केवल ‘शो पिस’को रूपमा नरहेको स्पष्ट पारेकी छन्।

अग्रज कलाकारहरू दयाहाङ राई र विजय बरालसँग काम गर्ने मौका पाएकी समृद्धिले आफ्नो भूमिकाले चलचित्रका दुई मुख्य पात्रलाई नै प्रभाव पार्ने खालको रहेको उल्लेख गरिन् । “म जहाँ जहाँ आउँछु, त्यहाँ इम्प्याक्टफुल (प्रभावकारी) भूमिका छ भन्ने लाग्छ,” समृद्धिले भनिन्, “दुई लिड क्यारेक्टरलाई प्रभाव पार्ने खालको भूमिका गर्न पाएकी छु ।”

चलचित्रमा विजय बरालको अपोजिटमा रहेर काम गरेकी समृद्धिले विजयको ‘जोन’मा रहेर काम गर्न प्रयास गरेको बताइन् । दयाहाङ राई र विजय बरालजस्ता अब्बल कलाकारहरूसँग काम गर्न पाउनु उनका लागि चुनौती र सिकाई दुवै भएको उनको अनुभव छ । उनले भनिन्, “विजय बराल र दयाहाङ राई दुवै जना अग्रज र अब्बल अभिनय गर्ने कलाकार, बोली पनि त्यस्तै राम्रो, त्यसैले च्यालेन्ज त पक्कै थियो । तर, मेरा लागि यो चलचित्र सिक्ने मौका बन्यो ।”

उनले सुरुमा चलचित्रको अफर आउँदा दयाहाङ र विजयको नाम सुन्दा आफू काम गर्न सक्छु वा सक्दिनँ भन्ने सङ्कोच भएको तर पछि यसलाई सिकाइको अवसर मानेर स्वीकार गरेको खुलासा गरिन् । यसअघिको चलचित्र ‘फर्की फर्की’मा धेरै नयाँ कलाकार भएकाले सहज भए पनि ‘वरिष्ठ बलराम’मा अग्रज कलाकारसँग काम गर्दा सङ्कोच र सिकाई दुवै अनुभव भएको उनले बताइन् ।

समृद्धिले बलपूर्वक भनिन् कि उनी चलचित्रमा केवल ‘शो पिस’ मात्र होइनन्, दुई अब्बल कलाकारको बिचमा आफ्नो पनि सशक्त भूमिका रहेको छ । उनले थपिन्, “बलरामको क्यारेक्टरको यात्रामा सहयोग गर्ने इम्प्याक्टफुल क्यारेक्टर छ।”

आफ्नो सिने करियरमा ‘वरिष्ठ बलराम’को ‘कुसुम’ नामक क्यारेक्टर सहयोगी बन्ने विश्वास उनले व्यक्त गरिन् । “यो क्यारेक्टर भोलि कति लोकप्रिय हुन्छ, त्यो त थाहा छैन । तर, दर्शकले सम्झिने खालको छ भन्ने लाग्छ,” उनले आशा व्यक्त गरिन्।

सुरेन्द्र पौडेल निर्देशित ‘वरिष्ठ बलराम’ कार्तिक ६ गते भाइटिकाको अवसरमा रिलिज हुँदैछ । चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्यालसँगै पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी लगायतका कलाकारको अभिनय रहेको छ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्य रहेको यस चलचित्रका निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की रहेका छन् । कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुष्कर बी घिमिरे छन् भने लाइन प्रोड्युसरमा राम विष्ट रहेका छन् ।

मनकृष्ण महर्जनको छायाङ्कन, प्रशान्त सिवाकोटीको सङ्गीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहेको यो चलचित्रलाई काठमाडौं उपत्यकामा डिसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu