चलचित्र ‘मुगलान’ पुस १० मा रिलिज हुने



काठमाडौं – रेहान प्रोडक्सनको ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र ‘मुगलान’ प्रदर्शनको तयारीमा जुटेको छ। निर्माण पक्षले सोमबार चलचित्रको फर्स्ट लुक्स पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। यो चलचित्र आगामी पुस १० गते, अर्थात् डिसेम्बर २५, २०२३ देखि देशभरका सिनेमा हलहरूमा रिलिज हुने भएको छ।

सार्वजनिक गरिएको फर्स्ट लुक्स पोस्टरमा मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकाललाई विशुद्ध ग्रामीण भेसभुसामा प्रस्तुत गरिएको छ। पोस्टरले उनीहरूको प्रेम कहानीलाई कलात्मक ढङ्गले प्रतिबिम्बित गरेको छ। प्रभात बाँसुरी समातेर धुनमा हराउन लागेको भावमा छन् भने स्मारिका लज्जा मिश्रित मुद्रामा देखिएकी छन्। यस दृश्यले चलचित्रमा नेपाली गाउँघरको परिवेश र परदेशको पृष्ठभूमिमा बुनिएको प्रेमकथालाई सङ्केत गरेको छ। युवाहरूको बिदेसिने सपना, गाउँघरको माया र सङ्घर्षको कथालाई ‘मुगलान’ मा केन्द्रित गरिएको निर्माण टिमले जनाएको छ।

आशिष ढकालको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा प्रभात पाल र स्मारिका ढकालका साथै श्री शिवांशु, दिनेश डिसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मि भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारहरूको दमदार अभिनय रहेको छ।

चलचित्रमा गोमन सिंहले लगानी गरेका हुन् भने रिता चौधरी सह-निर्माताको रूपमा रहेकी छिन्। अजय रेग्मीले छायाङ्कन गरेको यस चलचित्रमा तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ। जय विष्ट र राम गुरुको द्वन्द्व निर्देशन तथा रिदम कँडेलको ब्याकग्राउन्ड म्युजिक समावेश छ। देवेन्द्र कुँवरले कोरियोग्राफी गरेका छन्।

किरण भुसालले सङ्गीत दिएको चलचित्रका गीतहरूमा शान्तीश्री परियार, प्रताप दास, बेनिशा पौडेल, हरि गिरी (विमर्शी) लगायतका लोकप्रिय गायक/गायिकाको स्वर सुन्न सकिनेछ। गीत रचनामा निर्देशक ढकाल स्वयम्, सिर्जना लम्साल र हरि गिरीले कलम चलाएका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu