‘वरिष्ठ बलराम’को ‘न्याउली वनैमा’ बन्यो भाइरल सेन्सेसन



काठमाडौं – पछिल्लो समय नेपाली चलचित्रका गीतहरूले बजारमा अपेक्षित प्रभाव जमाउन नसकिरहेका बेला नयाँ चलचित्र ‘वरिष्ठ बलराम’को गीत ‘न्याउली वनैमा’ छोटो समयमै अपार लोकप्रियता हासिल गर्न सफल भएको छ। सार्वजनिक भएको दुई हप्ताभित्रै यो गीत सामाजिक सञ्जाल र विशेष गरी टिकटकमा छाएको छ।

यस गीतले दर्शकमाझ कस्तो क्रेज सिर्जना गरेको छ भन्ने कुरा यसको तथ्याङ्कले स्पष्ट पार्छ। दुई साताको अवधिमा युट्युबमा यो गीतलाई ५७ लाखभन्दा बढी पटक हेरिएको छ भने टिकटकमा मात्रै २ लाख ३५ हजारभन्दा बढी भिडियोहरू बनिसकेका छन्। युट्युबको भ्यूजमा टिकटकको महत्त्वपूर्ण योगदान रहेको देखिन्छ, किनकि धेरै प्रयोगकर्ताले टिकटकमा सुनेपछि खोजी-खोजी युट्युबमा हेरेको प्रतिक्रिया दिएका छन्। यसले ‘न्यौली वनैमा’ टिकटकमा कुन स्तरमा भाइरल भएको छ भन्ने प्रमाणित गर्छ।

दर्शकहरूले गीतको खुलेर प्रशंसा गरेका छन्। कतिपयले यसलाई ‘लत लाग्ने’ गीतको संज्ञा दिएका छन् भने केहीले ‘रुकुम मैकोट’ जतिकै उत्कृष्ट र मौलिक प्रस्तुति भएको भन्दै तारिफ गरेका छन्। प्रशान्त सिवाकोटीको शब्द, सङ्गीत र स्वरमा शान्ति श्री परियारले साथ दिएको यो गीतको सफलताले चलचित्र ‘वरिष्ठ बलराम’प्रति दर्शकको चासो ह्वात्तै बढाएको छ। यसबाट चलचित्रको व्यापारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

गीतको सफलताले उत्साहित बनेको निर्माण पक्षलाई चलचित्रको ट्रेलरले पनि उत्तिकै सकारात्मक प्रतिक्रिया दिएको छ। ट्रेलरमा अभिनेता दयाहाङ राई र विजय बरालबिचको शक्ति टकराबलाई दर्शकले विशेष रुचाएका छन्। कतिपय दर्शकले कथावस्तुमा नयाँपन महसुस भएको धारणा राखेका छन् भने मुख्य पात्र छुटाउनै गाह्रो भएको भन्दै दुवै कलाकारको भूमिका सशक्त रहेको सङ्केत गरेका छन्। समग्रमा, ट्रेलरले दर्शकलाई हलसम्म आकर्षित गर्ने सङ्केत दिएको छ।

सुरेन्द्र पौडेलको निर्देशनमा बनेको यो चलचित्रमा दयाहाङ राई र विजय बरालसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी लगायतका कलाकारको अभिनय छ। निर्देशक पौडेलको कथा तथा सम्पादन रहेको यो चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन्। आशिष तामाङ र श्रीराज कार्की निर्माता रहेको ‘वरिष्ठ बलराम’ आगामी कार्तिक ६ गतेबाट प्रदर्शनमा आउँदैछ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu