
काठमाडौं – आगामी कार्तिक १४ गते प्रदर्शनको तयारीमा रहेको पारिवारिक चलचित्र ‘परान’ को चर्चा बढ्दै गर्दा व्यस्त अभिनेत्री अञ्जना बराइलीले यसमा आफ्नो संलग्नताको कारण खुलाएकी छिन्। उनले ‘परान’ मा आफ्नो भूमिकाको लम्बाई वा दृश्य सङ्ख्या भन्दा पनि चलचित्रको सशक्त कथावस्तु लाई मुख्य आधार मानेर काम गरेको बताएकी हुन्।
वरिष्ठ अभिनेता नीर शाहले शीर्ष भूमिका निर्वाह गरेको यो चलचित्रले जीवनको अन्तिम क्षणसम्म पनि छोरा आफ्नो नजरकै सामुन्ने रहोस् भन्ने एक बुवाको गहिरो भावनात्मक कथा प्रस्तुत गर्दछ।
पछिल्लो समयकी सर्वाधिक व्यस्त अभिनेत्रीको सूचीमा रहेकी बराइलीले ‘परान’ लाई ‘खोजी खोजी हेर्नुपर्ने’ चलचित्रको कोटीमा राखेकी छिन्। “म यसमा जोडिनुको एउटै र एक मात्र कारण यसको विषय हो। यो मैले पर्खिएर वा खोजेर हेर्ने चलचित्रभित्र पर्छ,” अभिनेत्री बराइलीले आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, “जति काम भएको छ, त्यो साँच्चै राम्रो बनेको छ र म आफैँ पनि यो चलचित्र हलमा हेर्न निकै उत्साहित छु।”
उनले डबिङको क्रममा नै निर्माण पक्षलाई चलचित्रको विषयवस्तु र पारिवारिक परिवेशका कारण दसैँ-तिहार जस्ता पारिवारिक चाडपर्वको माहौलमा रिलिज गर्नुपर्ने सुझाव दिएको खुलासा गरिन्।
“दसैँ-तिहार विशुद्ध पारिवारिक माहौलका चाड भएकाले, राम्रो पारिवारिक चलचित्र हेर्न चाहने दर्शकका लागि यो सबैभन्दा उपयुक्त हुन्थ्यो। जुन प्रकार र परिवेशमा यो चलचित्र बनेको छ, त्यो हिसाबले चाडबाडमै प्रदर्शन गर्नुपर्ने थियो,” उनले भनिन्, “तर अहिले हामी चाडपर्व सकिएपछि रिलिज गर्दैछौँ।”
अभिनेत्री बराइलीको दाबी अनुसार ‘परान’ ले सबै उमेर समूहका मानिसको कथालाई समेटेकोले यो ‘युनिभर्सल’ चलचित्र बनेको छ र यसले सबै वर्गका दर्शकलाई सन्तुष्ट पार्नेछ।
चलचित्रमा नीर शाहको भूमिका सर्वोपरि भए पनि दर्शकले त्यसपछि आफ्नो पात्र ‘रूपा’ लाई विशेष रूपमा सम्झिने उनको भनाई छ।
“चलचित्रमा म एक मिजासिलो र परिस्थितिले विभिन्न रूपमा प्रस्तुत गर्ने पात्रमा छु। मेरो ‘रूपा’ पात्रको स्वभाव नै सम्झिन लायकको छ,” उनले आफ्नो भूमिकाबारे थप प्रस्ट्याइन्, “नीर शाह नजरमा परिहाल्नुहुन्छ, त्यसपछि दर्शकले मलाई सम्झिनुहुनेछ। पात्र बलियो भएकैले म अहिले यसरी प्रचारमा हिँडिरहेकी छु।” चलचित्रको रिलिज नजिकिँदै गर्दा पनि अञ्जनामा कुनै हतारो वा चिन्ता देखिँदैन, बरु चलचित्रले दर्शकको मन जित्नेमा उनी पूर्ण विश्वस्त छिन्।
गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापित ‘बाइस्कोप सिनेमा प्रा.लि.’ ले निर्माण गरेको ‘परान’ लाई डेब्यु निर्देशक दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेका हुन्। निर्देशक आचार्यकै कथा रहेको यस चलचित्रको पटकथा र संवाद यम थापा ले तयार पारेका हुन्।
चलचित्रमा नीर शाह, महेश शाह र अञ्जना बराइलीका साथै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायतका कलाकारहरूको अभिनय रहेको छ।





