‘काठमाडौं हरर चलचित्र महोत्सव’ का लागि २५ चलचित्र छनोट



काठमाडौं – नेपालमा हरर विधाका चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘काठमाडौं हरर चलचित्र महोत्सव’ ले प्रदर्शनका लागि छनोट भएका चलचित्रहरू र निर्णायक मण्डलको सूची सार्वजनिक गरेको छ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुन लागेको यस अनौठो महोत्सव आगामी अक्टोबर ३१ देखि नोभेम्बर २ (कार्तिक १४ देखि १६) सम्म ‘हेलोविन डे’ को अवसर पारेर कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा भव्यताका साथ सम्पन्न हुने भएको छ।

आयोजकका अनुसार, नेपालमा पहिलो पटक आयोजना हुन लागेको यो हरर चलचित्र महोत्सवले खास गरी लोककथा, मिथक, हरर र रहस्यमय विषयवस्तुमा आधारित फिल्महरूलाई प्राथमिकता दिएर प्रदर्शन गर्नेछ। महोत्सवका लागि विश्वभरबाट १०० भन्दा बढी चलचित्रहरू प्राप्त भएका थिए। तीमध्ये, गुणस्तर, विविधता र पारदर्शीताका कडा मापदण्डका आधारमा १५ देशका जम्मा २५ चलचित्रहरू प्रदर्शनका लागि अन्तिम रूपमा छनोट भएका छन्।

चलचित्रहरूको आह्वान ‘फिल्म फ्रीवे’ नामक अन्तर्राष्ट्रिय प्लेटफर्ममार्फत विश्वव्यापी रूपमा गरिएको थियो, जसलाई छनोट समितिले गहिरो मूल्याङ्कन गरी सूची तयार पारेको हो।

महोत्सवमा सहभागी उत्कृष्ट चलचित्रहरूलाई सम्मान स्वरूप तीन मुख्य विधामा पुरस्कार प्रदान गरिनेछ। जसमा, उत्कृष्ट फिचर चलचित्र, उत्कृष्ट लघु चलचित्र र उत्कृष्ट युवा चलचित्र समावेश छन्।

चलचित्रहरूको मूल्याङ्कनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू सम्मिलित एक प्रतिष्ठित निर्णायक मण्डल (जुरी) गठन गरिएको छ। यस मण्डलमा नेपालका प्रसिद्ध फोटोग्राफर राजभाइ सुवाल, चलचित्र समीक्षक होसाम फाह्मी र यास्मिन बुछफार रहेका छन्।

आयोजकले यो महोत्सवको मुख्य उद्देश्य नेपाली चलचित्र क्षेत्रमा अत्यन्त न्यून रहेको हरर शैलीका फिल्महरूको निर्माण र विकासलाई प्रोत्साहित गर्नु रहेको बताएका छन्। हरर विधाका फिल्महरूको कमीले गर्दा बजार विस्तारमा पछि परिरहेको अवस्थामा यो महोत्सवले यस्ता फिल्म संस्कृतिलाई समृद्ध बनाउने र नयाँ पुस्तालाई चलचित्र निर्माण तथा प्रदर्शनीप्रति आकर्षित गर्दै बजारमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ।

सूची:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu