अशोक दर्जी स्टारर ‘मन बिनाको धन’को नयाँ पोस्टर सार्वजनिक



काठमाडौं – निर्देशक तथा निर्माता टङ्क बुढाथोकीले आफ्नो चलचित्र ‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक गरेका छन्। शुक्रवार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको यस पोस्टरमा चलचित्रका मुख्य कलाकारहरूको उपस्थिति देख्न सकिन्छ।

सार्वजनिक गरिएको नयाँ पोस्टरमा बाल-कलाकार अशोक दर्जीसँगै अभिनेता/अभिनेत्रीहरू सरोज खनाल, निता ढुङ्गाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ र रवीन्द्र झा लगायतलाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ। यसअघि सार्वजनिक भएको पहिलो पोस्टरमा भने मुख्य अभिनेता अशोक दर्जीलाई मात्रै स्थान दिइएको थियो।

सामाजिक विषयवस्तुमा आधारित भनिएको यो चलचित्रलाई टङ्क बुढाथोकीले आफैँले लेखेका हुन् भने पटकथा तथा संवाद लेखनको जिम्मेवारी शिवम अधिकारीले सम्हालेका छन्। बुढाथोकीकै निर्माण र निर्देशनमा तयार भएको यो फिल्म आउँदो कात्तिक २१ गते देखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

‘मन बिनाको धन’ मा विष्णु माया मैनालीले निर्माताको भूमिका निर्वाह गरेकी छिन् भने सपना शर्मा कार्यकारी निर्माता रहेकी छिन्। त्यस्तै, जी.पी संग्रोला, विवेक नेपाल र विजया पाण्डे सह-निर्माताको रूपमा जोडिएका छन्।

लोकप्रिय गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत चर्चामा आएका अशोक दर्जीको जीवन परिवर्तनमा यही गीतको ठुलो भूमिका छ। उक्त गीतमा सङ्गीत बुढाथोकीकै रहेको थियो। हाल उनी काठमाडौँमा कक्षा ९ मा अध्ययनरत छन्।

चलचित्रमा अशोक दर्जीका साथै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, निता ढुङ्गाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शङ्कर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डङ्गोल लगायत ठुलो सङ्ख्याका कलाकारहरूको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu