वैकल्पिक शक्ति एकजुट हुनुपर्ने बहसमा निर्देशकहरू मीनबहादुर भाम र निश्चल बस्नेत



काठमाडौं – नेपालको राजनीतिमा नयाँ र वैकल्पिक शक्ति एकजुट हुनुपर्ने बहसमा नेपाली चलचित्र क्षेत्रका दुई चर्चित नाम निर्देशक मीनबहादुर भाम र निश्चल बस्नेत अगाडि आएका छन्। नयाँ बानेश्वरमा आइतबार भएको भेलामा उनीहरूले देशको राजनीतिमा नयाँ पुस्ताको नेतृत्व आवश्यक रहेको र कलाकार, बुद्धिजीवी र स्वतन्त्र पेसाकर्मीले अब जिम्मेवारी लिनुपर्ने धारणा राखे।

भामले नेपालको पुरानो राजनीतिक संरचनाले जनताको विश्वास गुमाइसकेको दाबी गर्दै भने, “पुराना शक्तिको छत्रछायामा अब कोही रहन चाहँदैन। समाजका सबै क्षेत्रमा वैकल्पिक सोच र नयाँ नेतृत्वको आवश्यकता छ। यही कारणले हामी जेनजी आन्दोलनपछिका नयाँ कदमहरूमा चासो देखाइरहेका छौँ।”

उनले पुराना दलमा रहेका असन्तुष्ट र सक्षम व्यक्तिहरूलाई पनि नयाँ धारभित्र ल्याउनुपर्नेमा जोड दिए। भामका अनुसार, “पुराना पार्टीमा नयाँ सोच भएका धेरै व्यक्ति दिक्क भएर बसेका छन्।उनीहरूको साथ लिएर पुराना शक्ति परास्त गर्न सकिन्छ।”

निर्देशक निश्चल बस्नेतले पनि समान मत राख्दै भने, “पछिल्ला वर्षहरूमा परिवर्तनको खोजी दशकभन्दा बढी पुरानो भइसकेको छ। तर, हरेक पटक नयाँ धारहरू विभाजित भइरहेका छन्।अब फेरि विभाजन होइन, एकीकरणको समय हो।”

बस्नेतले जेनजी आन्दोलनले जनतामा आशा जगाएको बताए र जोड दिए, “यदि नयाँ पुस्ता फेरि पनि टुक्रिएर गयो भने धेरै नेपालीले आफ्नो भविष्य नेपालमै देख्न छोड्नेछन्। त्यो राष्ट्रियताको दृष्टिले पनि खतरनाक हुन्छ।”

भाम र बस्नेत दुवैको भनाइमा नयाँ दल वा शक्तिको निर्माण अपरिहार्य रहेको निष्कर्ष झल्किन्छ। उनीहरूले सुझाएका अनुसार, देशका ऊर्जा क्षेत्रका प्रतीक कुलमान घिसिङ, काठमाडौंका प्रमुख बालेन शाह, र जेनजी आन्दोलनका अगुवाहरू सम्मिलित नयाँ राजनीतिक शक्ति बने मात्र देशमा वास्तविक परिवर्तन सम्भव हुनेछ।

उक्त भेलामा विभिन्न दल, पेसा र पृष्ठभूमिका व्यक्तिहरूको उपस्थिति थियो। सहभागीमध्ये पूर्व मन्त्री तथा रास्वपाबाट अलग भएकी सुमना श्रेष्ठ, रास्वपाका गणेश कार्की र पुकार बम, विवेकशील साझाका मिलन पाण्डे र रञ्जु दर्शना, राजनीतिक विश्लेषक सागर ढकाल, सञ्चारकर्मी रेशु अर्याल, युवा अभियन्ता गणेश कार्की, रुपन्देहीका सामाजिक अभियन्ता किरण विक लगायत थिए। उनीहरू सबैले पुराना राजनीतिक संरचनाको विकल्प खोज्दै नयाँ पुस्ताको साझा राजनीतिक प्लेटफर्म निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu