
काठमाडौं – वरिष्ठ निर्देशक शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘पीआर’ को प्रदर्शन मिति सार्वजनिक भएको छ। निर्माण पक्षले चलचित्रलाई आउँदो मङ्सिर २६ गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शन गर्ने गरी मिति घोषणा गरेको हो।
‘सलोन सलिना फिल्म्स’को ब्यानरमा निर्माण भएको यस चलचित्रले वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूको सपना, उनीहरूले भोग्नुपर्ने सङ्घर्ष र त्यसका पछाडिका तीतो यथार्थहरूलाई मुख्य विषयवस्तु बनाएको छ। चलचित्रमा प्रेम, सङ्घर्ष र आप्रवासनसँग जोडिएको एक भावनात्मक कथालाई पर्दामा उतारिएको छ।
चलचित्रमा आर.ए. सुरज पौडेल, विनीता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, विमला खत्री म्याक्स, गणेश बुढाथोकी, कृष्ण थापा र नवीन घायलको प्रमुख भूमिका रहेको छ। चलचित्रको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीले गरेका हुन् भने लक्ष्मण सापकोटा र प्रदीप दाहाल निर्माताको रूपमा रहेका छन्।
चलचित्रका निर्देशक शोभित बस्नेतले ‘पीआर’ मार्फत दर्शकले रोमान्स, एक्सनका साथै एउटा महत्त्वपूर्ण सामाजिक सन्देश पनि पाउने बताएका छन्। “हामी ‘पीआर’ लाई ‘नेपालको कथा, नेपाली युवाको सपना र सङ्घर्ष’ का रूपमा दर्शकसमक्ष ल्याउँदैछौँ,” निर्देशक बस्नेतले भने, “यो चलचित्रले दर्शकलाई पक्कै पनि फरक स्वाद र अनुभूति प्रदान गर्नेछ भन्नेमा हामी विश्वस्त छौँ।”






