
काठमाडौं – आगामी फागुन १ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कल्ली’ को निर्माण पक्षले तीन आकर्षक पोस्टरहरू सार्वजनिक गर्दै आफ्नो प्रचार प्रसारलाई औपचारिक रूपमा अगाडि बढाएको छ। किरण नेपालीको प्रस्तुति रहेको यस चलचित्रका सार्वजनिक गरिएका पोस्टरहरूमा मुख्य कलाकारहरूको विविधतापूर्ण र भिन्न गेटअपले दर्शकहरूमा उत्सुकता जगाएको छ।
महेश दवाडीको लेखनमा आधारित ‘कल्ली’ लाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। राकेश दाहालले डिजाइन गरेका पोस्टरहरूमध्ये एउटामा नायक नाजिर हुसेन र नायिका वर्षा राउतको काखमा बाल कलाकार मञ्जिला बानियाँलाई देख्न सकिन्छ। यस्तै, अर्को पोस्टरमा कलाकार सुलक्षण भारती एक भिन्न र विशेष भूमिकामा प्रस्तुत भएका छन्। तेस्रो पोस्टरमा भने सशक्त अभिनेता सौगात मल्लको उपस्थिति रहेको छ। यी फरक प्रस्तुतिहरूले चलचित्रको कथावस्तुको रहस्य र गहिराइलाई झल्काउँदै दर्शकको प्रतीक्षालाई थप बढाएको छ।
चलचित्रमा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, वर्षा राउत, बेगम नेपाली, बिनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगर लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ। साथै, उपेश ढकाल, मञ्जिला बानियाँ र समर्पण खतिवडाले बाल कलाकारको रूपमा अभिनय गरेका छन्।
लेकाली इन्टरटेन्मेन्ट प्रा.लि र कस्तुरी प्रोडक्सनको संयुक्त प्रस्तुतिमा तयार भएको यस चलचित्रमा आशिष अविरल, सरित राई र केतन क्षेत्रीको सङ्गीत सुन्न सकिनेछ।





