
काठमाडौं – कलाकार सौगात मल्ल अभिनीत चलचित्र ‘भाइरल गोर्खे’ को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्रलाई आउँदो माघ १ गते देशव्यापी रूपमा रिलिज गर्ने घोषणा गरेको हो। पोस्टरमा मुख्य कलाकार सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ रोमान्टिक मुडमा देखिएका छन्। पोस्टरको दायाँ छेउमा रहेको ‘बतासले उडाई लग्यो माया मेरो’ भन्ने वाक्यांशले उनीहरूको प्रेम सम्बन्धलाई चित्रण गर्दछ। यही बोलको गीत आज नै सार्वजनिक गर्ने तयारी निर्माण टिमले गरेको छ।
पोस्टरको डिजाइनले चलचित्रको मूल विषयवस्तुलाई स्पष्ट पार्छ। ‘लाइक’, ‘लभ रियाक्ट’ र विभिन्न इमोजीहरूले सामाजिक सञ्जालमा भाइरल हुने अहिलेको ट्रेन्ड र त्यसप्रतिको तीव्र आकर्षणलाई सङ्केत गर्छ। ‘फलोइङ फर यू’ लेखिएको र मोबाइल फ्रेमभित्र टिकटक वा रिल्स बनाइरहेको जस्तो देखिने सौगात र सृष्टिको प्रस्तुतिले चलचित्रको कथा भाइरल बन्ने पछिल्लो चाहनाको वरिपरि घुमेको बुझिन्छ।
‘भाइरल गोर्खे’ को केन्द्रीय कथा टिकटक, फेसबुक र युट्युब लगायतका माध्यमबाट जसरी भए पनि ‘भाइरल’ हुने पछिल्लो समयको मनोदशामाथि केन्द्रित छ। आजभोलि समाजमा रोगकै रूपमा फैलिएको यस प्रवृत्तिलाई समातेर बनाइएको यस सिनेमाले समसामयिक र ज्वलन्त सामाजिक विषयवस्तु उठाएकाले दर्शकको मन जित्न सफल हुनेमा निर्माण टिम आशावादी छ।
निर्देशक निगम श्रेष्ठले चलचित्र हरेक घरघरको र वर्तमान समयको विषय भएकाले दर्शकले अत्यधिक मन पराउनेमा विश्वस्त रहेको बताएका छन्। चलचित्रमा सौगात मल्ल र सृष्टि श्रेष्ठका साथै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल र ऋषि धमलाको पनि महत्त्वपूर्ण अभिनय रहेको छ।





