काठमाडौं – आगामी माघ १६ गतेलाई प्रदर्शन मिति तोक्दै चलचित्र ‘आ बाट आमा’ ले तिहारको शुभ अवसर पारेर आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको पहिलो पोस्टरले चलचित्रले बोकेको मूल भावलाई प्रस्ट्याएको छ, जसमा कलाकार बिपना थापा र प्रदीप रावतसँगै पल शाह खुसी मुद्रामा देखिएका छन्।

पोस्टरको भावले ग्रामीण परिवेशमा आमाबाबु र सन्तानबिचको गहिरो भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको सङ्केत गर्दछ। विशेष गरी, पोस्टरमा राखिएको मार्मिक संवादले धेरै नेपाली परिवारको यथार्थलाई मुखरित गरेको छ: ‘बा आमाले परिश्रमले घर बनाउनु भयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनायौँ।’ यो संवादले चलचित्रको कथावस्तु आम दर्शकको जीवनसँग नजिक रहने र यसले ‘घर र आमाको माया’ को भावनालाई सशक्त रूपमा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।
चन्द्र पन्तको लेखन, पटकथा र निर्देशनमा तयार भएको यो चलचित्र आर्या पन्तले प्रस्तुत गरेकी हुन्। ‘आ बाट आमा’ मा बिपना थापा, प्रदीप रावत, पल शाह लगायत साईग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा, गजित बिस्ट, हेमराज अधिकारी र दिलीप उखेडाको अभिनय रहेको छ।





