
काठमाडौं – नेपाली रजतपटमा अब एक नयाँ सस्पेन्स थ्रिलर चलचित्रको प्रवेश हुने भएको छ। अभिनेता निखिल उप्रेती र अभिनेत्री वर्षा सिवाकोटीलाई मुख्य भूमिकामा लिएर निर्माण हुन लागेको चलचित्र ‘कस्तुरी’ को निर्माण पक्षले आइतबार एक कार्यक्रमका बिच औपचारिक घोषणा गरेको छ। चलचित्र निर्माणसँगै कर्पोरेट जगतका स्थापित व्यक्तित्व धिरज अग्रवालले मनोरञ्जन क्षेत्रमा पाइला चालेका छन्। टेन प्लास्ट इन्डस्ट्रीज प्रा.लि. मार्फत विभिन्न उद्योग व्यवसायमा सफल पहिचान बनाएका अग्रवाल अब ‘टेन इन्टरटेनमेन्ट प्रा.लि.’ ब्यानरबाट ‘कस्तुरी’ का निर्माताका रूपमा प्रस्तुत भएका छन्।
‘कस्तुरी’ लाई ऋत बोहोराले निर्देशन गर्नेछन्, जसको कथा पनि उनैले लेखेका हुन्। निर्देशक बोहोराका अनुसार यो चलचित्र विशुद्ध सस्पेन्स थ्रिलर विधामा आधारित हुनेछ। चलचित्रमा रहस्य, डर र उत्सुकताको गहिरो मिश्रण प्रस्तुत गरिनेछ। यसले विशेष गरी मनोवैज्ञानिक तनाव, हत्या, अपहरण र जटिल षड्यन्त्रजस्ता संवेदनशील विषयहरूलाई पर्दामा उतार्नेछ।
यस चलचित्रको महत्त्वपूर्ण पाटो भनेको निखिल उप्रेती र वर्षा सिवाकोटीको पहिलो पटकको स्क्रिन सहकार्य हो। उनीहरूसँगै निशा अधिकारी, ब्रजेश खनाल, शेखर चापागाईँ र निर्मल शर्मा पनि प्रमुख भूमिकामा देखिनेछन्।
चलचित्रको पटकथा ब्रजेश खनालले लेखेका हुन्। धिरज कुमार अग्रवाल निर्माताको भूमिकामा रहँदा अञ्जली चौधरी सह-निर्माताको रूपमा संलग्न छिन्। आलोक शुक्लाले चलचित्रको छायाङ्कन गर्नेछन्। चलचित्रमा प्रशान्त सिवाकोटीको सङ्गीत रहनेछ र गीतमा युवराज काफ्लेको शब्द रहनेछ। ट्राइडेन्ट कन्सेप्टले प्रचार-प्रसारको डिजाइन गर्नेछ भने निर्माण व्यवस्थापकको जिम्मेवारी दिलीप पन्तको काँधमा छ। बाँकी कलाकार तथा प्राविधिक टोलीको छनोट प्रक्रिया जारी रहेको निर्माण पक्षले जनाएको छ।
निर्माण टोलीका अनुसार ‘कस्तुरी’ को छायाङ्कन आउँदो मङ्सिर महिनादेखि काठमाडौँ र यसको आसपासका क्षेत्रहरूमा सुरु हुनेछ।





