हास्य कलाकार प्रभात लामा अब ‘महादशा’ मार्फत ठुलो पर्दामा



काठमाडौं – लामो समयदेखि हास्य विधामा दर्शकको मन जित्दै आएका चर्चित कलाकार प्रभात लामाले अब आफ्नो अभिनय यात्रालाई ठुलो पर्दामा विस्तार गर्ने भएका छन्।

उनी निर्माता-निर्देशक किरण नेपालीको चलचित्र ‘महादशा’ मार्फत नेपाली रजतपटमा मुख्य कलाकारको रूपमा डेब्यु गर्दैछन्। लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा लामासँग नायिका पूजा शर्माले अनस्क्रिन रोमान्स गर्ने निर्माण पक्षले पुष्टि गरेको छ।

‘महादशा’ मा लामा र शर्माको जोडीबाहेक अन्य कलाकारहरू पनि फाइनल भइसकेका छन्। यसमा प्रमोद अग्रहरी, प्रेमा लामगाढे, उत्तम प्रधान, निरुता सिंह, श्याम मगर र रियर राई लगायतका कलाकारको अभिनय रहनेछ। यस चलचित्रबाट नै चर्चित र्‍यापर हाकिम गुरुङले पनि अभिनयको दुनियाँमा औपचारिक प्रवेश गर्दैछन्।

पहिलो पटक मुख्य भूमिकामा काम गर्न लागेका प्रभात लामाले ठुलो पर्दाको यो अवसरले आफूलाई उत्साहित बनाएको बताए। “चलचित्रको प्रस्ताव आउँदा मेरो मनले नै ‘यो नयाँ यात्रा सुरु गर्नुपर्छ’ भन्यो। लामो समयदेखि अभिनयमा सक्रिय भए पनि, कुनै फिल्मको मुख्य पात्र बन्नु मेरा लागि पूर्णतया नयाँ अनुभव हो। त्यसैले, यसले एक किसिमको उत्साह र सँगै अलिकति बेचैनी पनि दिएको छ,” उनले भने।

चलचित्रको लगानी राजे के. शाह, श्याम मगर र अमला देवी राईको रहेको छ भने सुरज आचार्य कार्यकारी निर्माताको भूमिकामा छन्। चलचित्रको कथा तथा पटकथा मनिष गौतमले तयार पारेका हुन्।

निर्देशक नेपालीका अनुसार, ‘महादशा’ ले नेपाली समाजका संस्कार, संस्कृति, अध्यात्म र मानवीय जीवनमा विद्यमान रहस्यमय घटनाक्रमहरूलाई मुख्य विषयवस्तु बनाउनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu