दयाहाङ र विजयसँग स्क्रिन सेयर गरेपछि चर्चामा समृद्धि



काठमाडौं – भाइटिकाको दिन भोलीदेखि देशभर प्रदर्शनमा आउने चलचित्र ‘वरिष्ठ बलराम’ को मुख्य आकर्षणमा दयाहाङ राई र विजय बरालसँगै अर्की एक प्रतिभाशाली अभिनेत्रीको उपस्थिति रहेको छ। ती कलाकार हुन्, समृद्धि अर्याल, जसले चलचित्रमा एक महत्त्वपूर्ण महिला पात्रको भूमिका निर्वाह गरेकी छिन्।

‘फर्की फर्की’ चलचित्रबाट नेपाली रजतपटमा पाइला टेकेकी समृद्धिको नाम अहिले धेरैका लागि नयाँ हुन सक्छ। तर, पहिलो चलचित्रमै अनमोल केसी जस्ता स्थापित नायकसँग पर्दा बाँड्न पाउनु र दोस्रो चलचित्रमा दयाहाङ राई र विजय बराल जस्ता सशक्त कलाकारहरूसँग काम गर्न पाउनुले उनको सम्भावनालाई उजागर गर्दछ।

हङकङमा जन्मिएकी समृद्धिको बाल्यकाल नेपाल र हङकङ दुवैतिर बितेको थियो। उनले सानैदेखि कला क्षेत्रमा रुचि राख्दै आएकी थिइन् र यसैलाई आफ्नो पेसा बनाउने अठोटका साथ अभिनयको औपचारिक शिक्षा लिइन्। उनले मुम्बईको प्रतिष्ठित विस्लिङ उड्स इन्स्टिच्युटबाट तीन वर्ष लामो अभिनय तालिम पूरा गरेकी थिइन्।

अभिनयको अध्ययनपछि उनले मुम्बईमै मोडलिङको अनुभव सँगालिन्। पिज्जादेखि जिलेटसम्मका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको विज्ञापनमा मोडलिङ गरेपछि उनले विज्ञापन, म्युजिक भिडियो र करिब एक दर्जन सर्ट फिल्महरूमा समेत आफ्नो अभिनय कौशल देखाइसकेकी छिन्।

यसै क्रममा, ‘फर्की फर्की’ को अडिसन आह्वान भएपछि उनले अडिसन दिएर नेपाली चलचित्र उद्योगमा पाइला टेकेकी हुन्। ‘वरिष्ठ बलराम’ उनको दोस्रो ठूलो पर्दाको प्रस्तुति हो।

‘वरिष्ठ बलराम’ मा समृद्धि ‘कुशुम’ नामक चरित्रमा प्रस्तुत हुनेछिन्। उनले चलचित्रमा अभिनेता विजय बरालको अपोजिटमा प्रमुख भूमिका निर्वाह गरेकी छिन्।

सुरेन्द्र पौडेलले निर्देशन गरेको यो चलचित्र वृषभ सिद्धी इन्टरटेनमेन्ट को प्रस्तुतिमा आन्भी फिल्मस को सहकार्यमा तयार भएको हो। चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्यालका साथमा पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायतका कलाकारहरूको अभिनय रहेको छ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले तयार पारेका हुन्। आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्माताहरूमा प्रदीप जी धामी र पुस्कर बी घिमिरे छन् भने राम विष्ट लाइन प्रोड्युसर रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu