
काठमाडौं – तिहारको महत्त्वपूर्ण दिन, भाइटिकाको शुभ साइत पारेर बिहीबारदेखि ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आएका छन्। यससँगै अहिले ‘कान्तारा’, ‘जेरी अन टप’, ‘थामा’ सहित हलहरूमा प्रदर्शनरत चलचित्रको सङ्ख्या झन्डै एक दर्जन पुगेको छ, जसले दर्शकलाई विभिन्न स्वादका कथावस्तुहरूमा रमाउने मौका दिएको छ। फरक-फरक जनरामा बनेका यी दुई नयाँ चलचित्रले दर्शकमाझ नयाँ स्वाद पस्किने अपेक्षा गरिएको छ।
अर्जुन सुवेदी निर्देशित ‘सोल्टिनी’ अन्तरजातीय प्रेमकथामा आधारित छ। यसमा लोकप्रिय गायक तथा अभिनेता प्रकाश सपूत, परीक्षा लिम्बू, विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, सुन्दर धिताल लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ। रेजिना बिस्ट र संसार चौलागाईँ निर्माता रहेको यो चलचित्रमा अर्जुन सुवेदी र कुमार भट्टराईको कथा तथा पटकथा लेखन रहेको छ।
सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको ‘वरिष्ठ बलराम’ दुई प्रमुख पात्रहरूको अस्तित्वको सङ्घर्षलाई केन्द्रबिन्दुमा राखेर बुनिएको कथा हो। चलचित्रमा चर्चित अभिनेता दयाहाङ राईसँगै विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, प्रदीप कुमार चौधरी लगायतका कलाकारको सशक्त अभिनय रहेको छ। निर्देशक पौडेल स्वयंको कथा तथा सम्पादन रहेको यो चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ।
यसैबिच, शुक्रवार देखि भने अर्को नेपाली चलचित्र ‘मैझारो’ पनि रिलिज हुँदैछ, जसलाई ‘तक्मे बुढा’ उपनामले चिनिने कलाकार विल्सन विक्रम राईले निर्देशन गरेका छन्।





